२५ श्रावण २०८३, सोमबार
,
Latest
अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षे उमेर हद प्रश्ताव विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेको बताउनुभएको छ ।

नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै ‘होल अफ द नेशन’ अर्थात् एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेरेको उहाँको भनाइ थियो । उद्योगले कमाएको नाफाबाट पुनः लगानी बढ्ने, त्यसबाट रोजगारी तथा आम्दानी सिर्जना हुने र अन्ततः त्यसले राज्यको राजस्वमा योगदान पुर्‍याउने भएकाले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो ।

वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गर्नुभयो । उहाँले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न तथा नयाँ प्रविधि भित्र्याएर रोजगारीका अवसर सिर्जना गर्न आग्रह गर्नुभयो ।

सरकारले विगतका समस्याहरू सच्याउँदै लगानीमैत्री वातावरण निर्माण गर्न विशेष छुट तथा सुविधा घोषणा गरेको पनि उहाँले स्मरण गराउनुभयो ।

‘चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले स्पष्ट सन्देश दिएको छ कि सरकारको प्राथमिकता केवल कर सङ्कलन मात्र होइन,’ अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘हाम्रो मुख्य लक्ष्य उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तीव्र बनाउनु हो । नेपालमा वैध रूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो ।’

ठूलो लगानी भित्र्याउन नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यता आवश्यक रहेको उहाँले बताउनुभयो । लगानीकर्ताले सरकारको नीति तथा कर प्रणालीप्रति विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो ।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार तथा कानुनी प्रक्रियामा रहेका समस्याबारे व्यवसायीहरूको प्रत्यक्ष अनुभव र सुझाव माग गर्नुभयो । सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने प्रमुख सुधार पहिचान गरी त्यसको ठोस कार्ययोजना बनाएर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी उद्यमीहरूले नेपालमा लगानी गर्दा भोग्नुपरेका अवरोध तथा आवश्यक नीतिगत सुधारका विषयमा अर्थमन्त्रीसमक्ष सुझाव दिएका थिए । प्राप्त सुझावलाई सम्बोधन गर्दै सरकारले व्यवसायीहरूको मनोबल उच्च बनाउन प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।




भर्खरै