११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विनोदले गाउँ छोडेका छैनन्

विनोदले गाउँ छोडेका छैनन्
Screenshot
अ अ+ अ-

काठमाडाैँ । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उहाँले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक रु २५ लाख बचत गर्नुभएको छ ।

कैलालीको घोडाघोडी नगरपालिक–५ का विनोद उदाहरणीय कृषक हुन्, विनोद चौधरी । पाँच वर्षअघि बैङ्कबाट कुल रु ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक रु २५ लाख कमाउन थाल्नुभएको हो । माछा उद्यमीका रुपमा परिचित विनोदको उमेर २७ वर्षको छ । पाँच वर्षअघि सीमित लगानीबाट उहाँले माछापालन सुरु गर्नुभएको हो ।

सुरुमा लगानी भए पनि अहिल भने विनोद माछापालन व्यवसायबाट खुसी हुनुभएको छ । उहाँको अधिकांश समय पोखरीमा बित्ने गर्छ । पढाइसँगै आम्दानी गर्नुपर्छ भन्ने मान्यताले माछापालनतर्फ आकर्षित हुनुभएका चौधरीले गाउँका अन्य युवालाई पनि स्वरोजगर बन्न प्रेरणा दिन थाल्नुभएको छ ।

“विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले अघि बढेमा असफल भइँदैन,” विनोदले भन्नुभयो । माछापालन व्यवसाय सुरु गर्नु उहाँका लागि सहज थिएन । पोखरी, बाँध, पानी आपूर्तिको व्यवस्था, अन्य भौतिक संरचना निर्माणमै लाखौँ खर्च गर्नु परेको थियो । चौधरीले सुरुमा रु २५ लाख लगानी गर्नुभएको थियो । पछि क्रमशः लगानी बढ्दै गयो । लगानी उठ्दैन भन्ने डर नभएको होइन, विनोदलाई अन्ततः धैर्यताको फल मीठो हुन्छ भने जस्तै पाँच वर्षमा उनको लगानी उठिसकेको छ । विनोद अहिले नाफामा हुनुहुन्छ । उहाँका अनुसार व्यवसायको सुरुआती चरणमा आम्दानीभन्दा खर्च धेरै हुने भएकाले परिवार सञ्चालन गर्न कठिनाइ भएको थियो । उत्पादन कम हुनु, बजार व्यवस्थापनमा अनुभवको कमी तथा निरन्तर लगानी आवश्यक पर्नुले आर्थिक दबाब बढाएको उहाँ सम्झनुहुन्छ ।

“सुरुमा कमाईभन्दा लगानी धेरै थियो । परिवार चलाउन पनि गाह्रो भयो । व्यवसाय टिकाउन धैर्य चाहिने रहेछ । दुई–तीन वर्षसम्म त नाफा भन्ने कुरा नै भएन,” उहाँले भन्नुभयो । सुरुका वर्ष उत्पादन कम भएकाले वार्षिक रु पाँच लाखको माछा बिक्री हुने गरेको थियो । पछिल्ला वर्षमा उत्पादन बढ्दै गएपछि वर्षमा दुई पटकसम्म माछा बिक्री गर्न सकिने अवस्था बनेको छ । यससँगै वार्षिक आम्दानी पनि करिब रु २५ लाखसम्म पुगेको उहाँले जानकारी दिनुभयो ।

बजारमा ताजा माछाको माग निरन्तर बढिरहेकाले गुणस्तरीय उत्पादन गर्न सके अझ राम्रो आम्दानी लिन सकिने सम्भावना रहेको उहाँको विश्वास छ । बर्खायाममा बाँध भत्किने, पानीको सतह नियन्त्रण, पोखरी सफा, पानीको गुणस्तर कायम राख्नुपर्ने काममा हरेक वर्ष थप खर्च हुने गरेको उहाँले बताउनुभयो । उहाँले पाँच वटा ठूला पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहनुभएको छ ।

चौधरीका अनुसार व्यवसाय सुरु गर्दा आवश्यक प्राविधिक ज्ञानको अभाव थियो । त्यसपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त तालिम, प्राविधिक परामर्श र अनुभवी किसानसँगको सिकाइले व्यवसायलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो । माछापालन व्यवसायमा धैर्य, लगनशीलता र सही व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने उहाँको अनुभव छ । धेरैले व्यवसाय सुरु गरेको छोटो समयमै राम्रो आम्दानीको अपेक्षा गर्ने गरे पनि यो क्षेत्रमा सुरुका केही वर्ष लगानी बढी हुने र त्यसपछि मात्रै प्रतिफल आउन सुरु हुने उहाँको भनाइ छ ।

उहाँको व्यवसायमा अहिले परिवारका सदस्यहरूको पनि सक्रिय साथ रहेको छ । दाना व्यवस्थापन, पोखरीको हेरचाह, माछा बिक्री तथा अन्य दैनिक काममा परिवारका सदस्यले सहयोग गर्ने गरेका छन् । परिवारको साथ र निरन्तर मेहनतले व्यवसायलाई थप विस्तार गर्न सहज भएको उहाँ बताउनुहुन्छ । आगामी दिनमा उत्पादन क्षमता अझै बढाउने, आधुनिक प्रविधिको प्रयोग गर्ने तथा थप पोखरी विस्तार गरी व्यावसायिक माछापालनलाई अझ सुदृढ बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

जोखिम मोलेर सुरु गरिएको माछापालन व्यवसायले आज चौधरीलाई आत्मनिर्भर बनाएको मात्र छैन, गाउँमै बसेर आधुनिक कृषि उद्यममार्फत सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ । वैदेशिक रोजगारीलाई मात्रै सफलताको माध्यम ठान्ने युवाका लागि उहाँको यात्रा प्रेरणादायी उदाहरण बनेको छ । रासस