२५ श्रावण २०८३, सोमबार
,
Latest
हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य



अ+ अ-

काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्राको अवसर पारेर आफ्नो नयाँ हास्यव्यंग्य प्रस्तुति ‘बालेन सरकार’ सार्वजनिक गरेका छन्।

समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, राजनीतिक दल तथा नेताहरूलाई केन्द्रमा राखेर तयार पारिएको प्रस्तुति ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘बालेन सरकार’मार्फत रिजालले सरकारलाई व्यंग्यात्मक शैलीमा सुझाव दिँदै राजनीतिक गतिविधि, निर्वाचन प्रक्रिया र नेपाली समाजमा देखिएका विभिन्न प्रवृत्तिमाथि कटाक्ष गरेका छन्। प्रस्तुतिमा मनोरञ्जनसँगै सामाजिक तथा राजनीतिक चेतना प्रवाह गर्ने प्रयास गरिएको छ।

रिजालले गाईजात्रा हास्य कलाकारका लागि विशेष पर्व भए पनि पछिल्लो समय यस्ता व्यंग्यात्मक प्रस्तुतिको व्यावसायिक पक्ष कमजोर हुँदै गएको बताए। उनका अनुसार आम्दानीभन्दा पनि हरेक वर्ष प्रस्तुति पर्खिरहेका दर्शक–श्रोताको मायाले आफूलाई निरन्तर गाईजात्रे व्यंग्य प्रस्तुत गर्न प्रेरित गरेको हो।

‘बालेन सरकार’को लेखन, निर्देशन र प्रस्तुति स्वयं रिजालकै रहेको छ। यसमा नेपाली लोकसंगीतका चर्चित सर्जक झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि’ गीतलाई आधार बनाएर तयार पारिएको प्यारोडीसमेत समावेश गरिएको छ। प्यारोडीमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारको स्वर रहेको छ।

लोकराज अधिकारीको शब्द र अष्ट लामाको संगीत संयोजन रहेको उक्त प्यारोडीमार्फत नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलमाथि व्यंग्य गरिएको छ।

प्रस्तुतिको कोरियोग्राफी समन अधिकारीले गरेका छन् भने प्रेम शर्माले सम्पादन र हरि ढकालले छायांकन गरेका छन्। पोस्ट–प्रोडक्सनको जिम्मेवारी कोचे मिडियाले सम्हालेको छ।

‘बालेन सरकार’ रिजालको २३औँ गाईजात्रे प्रस्तुति हो। उनले गत वर्ष ‘मिस चौरासी’ सार्वजनिक गरेका थिए। विसं २०६१ देखि हरेक वर्ष निरन्तर गाईजात्रे हास्यव्यंग्य प्रस्तुति ल्याउँदै आएका रिजाल गाईजात्रामा समसामयिक विषयमाथि व्यंग्य गर्नु हास्य कलाकारको जिम्मेवारीसमेत भएको बताउँछन् ।