काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न उद्योग तथा फर्ममा अनुगमन गरी कारबाही तथा आवश्यक निर्देशन दिएको छ।
विभागले आइतबार काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वरस्थित श्याम कृष्ण स्टोरमा अनुगमन गर्दा खरिद बिल नराखेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल नराखेको भन्दै ऐनको दफा ३८(घ) बमोजिम कसुर प्रमाणित गरी दफा ३९(१)(क) अनुसार उक्त जरिवाना गरिएको विभागले जनाएको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३१, शंखमुलस्थित न्यू लुम्बिनी शुमेरु स्टोरलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित साउन २५ गते विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम बजार अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।











