११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
फाइल तस्वीर
अ अ+ अ-

सोलुखुम्बु। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार सोलुदूधकुण्ड नगरपालिका–३ को वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो ।

यस्तै, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन केही दिनअघि गएको पहिरोका कारण जोखिममा परेको छ । “निरन्तर वर्षात् भइरहेकाले जिल्लाका अन्य सरकारी संरचनामा समेत सामान्य क्षति पुगेको छ”, प्रमुख जिल्ला अधिकारी थापामगरले भन्नुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीस्थित वडा कार्यालय भवनभन्दा ठिक माथिबाट विस्तार गरिएको सडक क्षेत्रमा पहिरो जाँदा वडा कार्यालयको शौचालय बगाएको छ । पहिरोका कारण नजिकै रहेको प्रशासनिक भवनसमेत उच्च जोखिममा रहेको वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको माथिल्लो भिरबाट ठूलो पहिरो खसेको छ । पहिरोले सडकसहित आसपासका संरचनामा क्षति पुर्याएको छ भने पहिरो थप विस्तार हुनसक्ने जोखिम छ ।

“पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सकिने अवस्था छैन”, वडाध्यक्ष शेर्पाले भन्नुभयो । पहिरो थप बढेमा वडा कार्यालय भवनसँगै स्वास्थ्यचौकीसमेत प्रभावित हुनसक्ने उहाँले बताउनुभयो । वडा कार्यालयभन्दा माथिल्लो क्षेत्रमा रहेको भिरबाट पहिरो निरन्तर खसिरहेकाले आसपासको भूभाग थप जोखिमपूर्ण बन्दै गएको उहाँको भनाइ छ ।

त्यसैगरी, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले वडा कार्यालय परिसरको पर्खाल बगाएको छ । यस्तै वडा कार्यालय भवन र कर्मचारी आवाससमेत जोखिममा परेका वडाध्यक्ष दीपबहादुर राईले बताउनुभयो ।

पहिरो निरन्तर बढ्दै गएकाले कुनै पनि बेला वडा कार्यालय भवनसमेत तान्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । वडा कार्यालयभन्दा तल रहेका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । घर जोखिममा परेपछि उनीहरू सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन् ।

“पहिरो बढ्दै गएको छ । वडा कार्यालय त जोखिममा छ नै, यसले बस्तीसमेत धरापमा पारेको छ । ठूलो पानी परेको समयमा मलाई राति निद्रा लाग्दैन”, वडाध्यक्ष राईले भन्नुभयो, “झरी निरन्तर छ । वडा कार्यालय आसपासको जमिन पहिरोले थिलथिलो भएको छ । असाध्यै चिन्ता लाग्छ, कुन बेला के घटना हुने हो थाहा छैन ।”

यसैबीच पहिरोका कारण जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ मा पाँच घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार पहिरोका कारण घर जोखिममा परेपछि उनीहरूलाई नजिकै रहेको विद्यालय भवनमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पनि पहिरोका कारण एक घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर पहिरोको जोखिममा परेपछि उक्त परिवारलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म ११ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई जोखिमयुक्त घरमा बस्न नदिई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षाका कारण जिल्लाका ग्रामीण सडक, सरकारी संरचना तथा बस्ती आसपासका क्षेत्रमा पहिरोको जोखिम बढेको छ । विशेषगरी भिरालो भूभागमा सडक विस्तार गरिएका क्षेत्र तथा पहिरोको पुरानो जोखिम रहेका क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थानमा रहेका बस्ती तथा संरचनाको अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिम तत्काल घट्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानमा जान जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । रासस