२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्चवारीमाईमा पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता



अ+ अ-

रुपन्देही। मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको जनाएको छ ।

पालिकाले पूर्वाधार विकाससँगै सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजनाका आधारमा बजेट तर्जुमा तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक, खानेपानी, सरसफाइ तथा अन्य भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिइएको पालिका अध्यक्ष गयाप्रसाद बरईले राससलाई जानकारी दिनुभयो ।

स्थानीय सरकारको विकासलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी नागरिकको जीवनस्तर सुधारसँग जोडिएको बताउनुभयो । “हाम्रो लक्ष्य सडक र भवन निर्माणमा मात्र सीमित छैन । स्वस्थ, शिक्षित, आत्मनिर्भर र समृद्ध समाज निर्माणतर्फ केन्द्रित छ,” उहाँले भन्नुभयो ।

आधारभूत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, नियमित खोप तथा पोषण एवं स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन भएका छन् । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, गर्भवती तथा सुत्केरीको स्वास्थ्य परीक्षण, बाल स्वास्थ्य परीक्षण तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।

कृषिलाई स्थानीय अर्थतन्त्रको आधार मानेर गाउँपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन, सिँचाइ, कृषि उपकरण, पशुपालन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको छ । किसानको उत्पादन र आम्दानी बढाउने उद्देश्यले प्राविधिक सहयोग तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

युवालाई स्थानीयस्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम, कृषि उद्यम, साना व्यवसाय तथा उद्यमशीलता विकासका कार्यक्रम अघि बढाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीले सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन प्रशासनिक प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभयो ।

“स्थानीय सरकारप्रतिको नागरिकको विश्वास सेवा प्रवाहबाट स्थापित हुन्छ । त्यसैले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर नागरिकमैत्री प्रशासन निर्माणमा केन्द्रित भएका छौँ,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नियमित अनुगमन तथा सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ ।

उपाध्यक्ष आशा सिंहले महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि परेका समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिला सशक्तीकरण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सीप विकासका कार्यक्रमलाई वडा तहसम्म विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

शिक्षातर्फ विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धि, शिक्षकको क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ । त्यसैगरी, खेलकुद, वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनका कार्यक्रमलाई समेत गाउँपालिकाले अघि बढाएको जनाएको छ ।

गाउँपालिकाका अनुसार विकास निर्माणका योजना छनोट गर्दा स्थानीय आवश्यकता र नागरिकको मागलाई आधार बनाउने गरिएको छ । योजना कार्यान्वयनमा जनसहभागिता, नियमित अनुगमन तथा पारदर्शितालाई प्राथमिकतामा राखिएको छ । रासस