काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई अनावश्यक रूपमा आन्तरिक साना घटनामा परिचालन गरेर सेनाको गरिमा र जनविश्वास कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले साना–साना घटनाको नियन्त्रणका लागि पटक–पटक सेना परिचालन गरिए सेनाप्रति जनताको विश्वास घट्ने र त्यसले दीर्घकालीन रूपमा राष्ट्रिय सुरक्षामा नकारात्मक असर पार्ने बताएका हुन् ।
ढुंगानाले हालै कप्तानगन्जमा भएको साम्प्रदायिक झडपका क्रममा प्रहरीले गोली चलाउनु र त्यसपछिको अवस्था नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नु दुवै निर्णय गलत भएको टिप्पणी गरे। उनले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली चलाएको आरोप लगाए।
उनका अनुसार द्वन्द्व नियन्त्रणका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्नुको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरणको प्रयोग गर्नुपर्ने थियो।
ढुंगानाले भने, “यदि सानोदेखि सानो घटनामा पनि जङ्गी अड्डाबाट सेना परिचालन हुन थाल्यो भने आजसम्म कायम रहेको सेनाको वर्चस्व र जनविश्वास कमजोर हुँदै जान्छ। जुन दिन जनताले सेनामाथिको विश्वास गुमाउँछन् र द्वन्द्वमा संलग्न व्यक्तिहरूले सेनालाई पनि नटेर्ने अवस्था आउँछ, त्यसको परिणाम गम्भीर हुन सक्छ।”
कप्तानगन्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेन–जी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेन–जी आन्दोलन र पछिल्लो घटनाको परिस्थिति फरक भए पनि दुवै घटनामा युवाले ज्यान गुमाउनु र राज्यबाट गोली चलाइनु दुःखद भएको बताए।
उनले कप्तानगन्ज घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने समेत माग गरे।











