काठमाडाैँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ्दै गएपनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनु भयो । उहाँले एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको बताउनु भयो ।
उहाँले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले निगमले भारतीय आयल कर्पोरेशनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरेको पनि बताउनुभयो । यसअघि मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको आएको थियो । निगमको उक्त मागअनुसार थप ग्यास तकाल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेसनले दिएको बरालको भनाइ छ ।
उहाँले निगमले दशैं–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास गरिरहेको पनि बताउनु भयो । बरालले सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैँ–तिहारअघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बजारमा उत्पन्न ग्यास अभावको समस्या अबको दुई हप्ताभित्रमा हल भइसक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।











