काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसीहितका विविध विषयमा द्विपक्षीय छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री चौधरीले नेपाल र युरोपेली सङ्घबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा कृषि, वन, वातावरण एवं ग्रामीण विकासका क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गर्नुभयो ।
उहाँले नेपाल सरकारका तर्फबाट युरोपेली सङ्घको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । छलफलका क्रममा नेपालको कृषि क्षेत्रमा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत विचार आदानप्रदान भएको थियो ।
नेपालमा उत्पादित बटर मिल्कबाट निर्मित ‘डग च्यु’लाई युरोपेली बजारमा निर्यात गर्ने सम्भावनाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ । मान्यता प्राप्त कृषि तथा खाद्य परीक्षण प्रयोगशालाको स्थापना तथा सुदृढीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वयात्मक रूपमा कार्य अघि बढाउने विषयमा सकारात्मक छलफल भएको छ ।
छलफलमा दुवै पक्षले कृषि, वन, वातावरण, खाद्य सुरक्षा, व्यापार तथा दिगो विकासका क्षेत्रमा नेपाल र युरोपेली सङ्घबीचको सहयोग, साझेदारी तथा प्राविधिक सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी, सुदृढ र विस्तारित बनाउँदै लैजाने साझा प्रतिबद्धता व्यक्त गरेका थिए । रासस











