१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ। सङ्घीय सांसदले शैक्षिक परामर्श क्षेत्रको विकृति र विसङ्गतिको अन्त्यका लागि सरकार र व्यवसायीबीचको संवादबाट कानुनी पक्ष सुधार गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको सन्दर्भमा सांसदहरूले विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर कानुनमा सुधार हुनुपर्ने भन्दै व्यवसायीलगाय सरोकार भएका पक्षको आवाजलाई बेवास्ता गर्न नमिल्ने बताउनुभएको हो ।

‘मात्र एजुकेसन अनलाइन’ द्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, शैक्षिक परामर्श क्षेत्रका सङ्घ-संस्थाका पदाधिकारी, निजी क्षेत्र तथा शिक्षा विज्ञहरूले नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सरोकार भएका निकायका प्रतिनिधिको अर्थपूर्ण सहभागिताको माग गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले निर्देशिकामा शैक्षिक परामर्श दिने संस्थाहरूबाट विदेशमा पढ्न जाने विद्यार्थीहरू विदेशमा पुगेर भनेअनुसारको शिक्षा र सुविधा नपाउँदा कुन निकायसँग समन्वय गर्ने र गुहार्ने भन्ने विषयलाई किनार ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको सरकार संविधान संशोधनको प्रक्रियामा अघि बढेकाले शिक्षा क्षेत्रका विद्यमान विकृति र विसङ्गतिको अन्त्यका लागि संरचनात्मक र कानुनी सुधार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सचेतक परियारले निर्देशिकाको संशोधनबाट अभिभावकहरू खुसी भएका भन्दै कुनै परिमार्जनयोग्य भएमा फेरि संशोधन हुने विश्वास दिलाउनुभयो ।

नेपाली कांग्रेसका सांसद सीता थपलियाले सरकारले कुनै पनि नियम, कानुन र नियमावली ल्याउँदा सरोकार भएका पक्षसँग छलफल गर्नुपर्ने आग्रह गर्दै सम्बन्धित पक्ष असन्तुष्ट भएर सडकमा आउनुपर्ने अवस्था आउन नदिन छलफल, समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरुप्रसाद बरालले धरौटी राख्न सक्नेलाई मात्रै व्यवसाय गर्न पाउने र कम लगानी गर्नेलाई व्यवसायबाट वञ्चित गर्न नहुने धारणा राख्नुभयो । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले परामर्श व्यवसायका लागि रु २५ लाख धरौटीलगायत व्यवस्था व्यावहारिक नहुने जिकिर गर्नुभयो । रासस