१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने



अ+ अ-

काठमाडौँ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चार माध्यमका पत्रकारसँग छलफल गर्दै सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ ।

आज सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पोखरेलले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले अन्तर मन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सूचना प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन रणनीतिअनुसार महत्त्वपूर्ण कामको थालनी गरिसकेको उल्लेख गर्नुभयो । सरकारी सूचना प्रवाह सुधार, पत्रकारहरूले सूचना सङ्कलनका क्रममा भोगिरहेका चुनौती तथा सरकार–सञ्चार माध्यमबीचको समन्वय सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच सुनिश्चित गर्न, सूचना प्रवाहलाई थप सहजीकरण गर्न तथा सरकारका निर्णय र समसामयिक विषयमा नियमित अन्तरसंवादको वातावरण बनाउन सुझाव दिएका थिए । उनीहरूले सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले पत्रकारसँगको संवादलाई निरन्तरता दिँदै सूचना प्रवाहलाई अझ पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, सरोज गौतम तथा मन्त्रालयका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । साथै कान्तिपुर, हिमालय टेलिभिजन, अनलाइन खबर, सेतोपाटी, रातोपाटी, नेपाल खबर, क्लिकमाण्डु, न्यूज एजेन्सी नेपाल, नेपाल टाइम्स, शिलापत्र, बाह्रखरीलगायत राष्ट्रिय सञ्चार माध्यमका राजनीतिक बिट हेर्ने पत्रकारहरूको उपस्थिति थियो ।

मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा, सञ्चार तथा अन्य समसामयिक विषयमा सञ्चारमाध्यम, पत्रकार, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

यसअघि मन्त्री पोखरेलले शिक्षा बिटमा कार्यरत पत्रकार तथा सरकारी सञ्चार माध्यमका प्रधान सम्पादक, समाचार प्रमुख तथा प्रतिनिधिहरूलगायतसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । मन्त्रालयले यस्ता अन्तरक्रियाले सरकार र सञ्चार माध्यमबीचको सहकार्यलाई थप प्रभावकारी र विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । रासस