काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महतले सत्याग्रहमा रहेकी ज्योति रानाभाटको माग र स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री महतले आफू पनि स्वास्थ्यकर्मी भएकाले रानाभाटको माग र स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा लिएको उल्लेख गरेकी छन्।
उनले समस्याको समाधान संवादबाट नै सम्भव हुने विश्वास व्यक्त गर्दै मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवाद र समन्वयको प्रयास गर्दै आएको जानकारी दिएकी छन्।
मन्त्री महतका अनुसार यस विषयमा स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापतिसमेत वार्ताका लागि निरन्तर सक्रिय छन्।
उनले हाल गत साता सुनसरीमा भएको दुःखद घटनापछि त्यसको व्यवस्थापन, पीडित परिवारसँग समन्वय तथा स्थानीय अवस्था सामान्य बनाउन आवश्यक पहलका लागि आफू सुनसरीमै रहेको स्पष्ट पारेकी छन्। त्यहाँको अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले आफ्नो उपस्थिति आवश्यक रहेको उनको भनाइ छ।
यद्यपि, रानाभाटको सत्याग्रहलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री महतले सोमबार पनि सम्बन्धित पक्षसँग पुनः वार्ता गर्ने तयारी भइरहेको र सबै पक्षको सहयोगमा सकारात्मक निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेकी छन्।










