१८ श्रावण २०८३, सोमबार
,
Latest
मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता



अ+ अ-

काठमाडाैँ । इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका जहाजहरूले २२७ यात्रु र चालक दलका सदस्यको उद्धार गरेका छन् । इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास)का अनुसार ‘मुतियारा सेन्टोसा–२’ फेरि पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । सुमेनेप जलक्षेत्रमा बिहान ६ः०० देखि ७ः०० बजेको बीचमा आगलागी हुँदा फेरिमा २३२ यात्रु, ३९ चालक दलका सदस्य तथा १८१ सवारीसाधन, जसमा अधिकांश ट्रक र एउटा एक्साभेटर थिए ।

बासारनासका अनुसार फेरि सञ्चालक कम्पनी ‘पीटी एटोसिसम लाम्पुङ पेलायारन’ले घटनाको करिब एक घण्टापछि सुराबाया खोज तथा उद्धार कार्यालयलाई जानकारी गराएको थियो । कम्पनीले कप्तानबाट मादुरा टापुको उत्तरी क्षेत्रमा जहाजमा आगलागी भएको सूचना प्राप्त गरे पनि त्यसपछि सम्पर्क विच्छेद भएको जनाएको छ । अधिकारीले बिहान ९ः४५ बजे फेरिलाई बुरुआन सापुडी टापुभन्दा करिब १९ नटिकल माइल उत्तरमा रहेको पत्ता लगाएका थिए । ज्वलनशील पदार्थ बोकेको ‘मेराटस प्रोजेक्ट–३’ कार्गो जहाजले घटनास्थलबारे जानकारी गराए पनि सुरक्षा जोखिमका कारण आगलागी भएको फेरिनजिक पुग्न सकेन । राष्ट्रिय खोज तथा उद्धार निकायले सार्वजनिक गरेको भिडियोमा फेरिबाट बाक्लो कालो धुवाँ निस्किएको र जहाजको ठूलो भाग आगोले ढाकिएको देखिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा लाइफ ज्याकेट लगाएका यात्रु उद्धारको प्रतीक्षामा डेकमा भेला भएको तथा केही यात्रु समुद्रमा हामफालेको देखिन्छ । विज्ञप्तिअनुसार बिहान १० बजेनजिक एउटा टगबोट र त्यस क्षेत्रबाट गुज्रिरहेका अन्य जहाज घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए ।आइतबार साँझसम्म पाँच जनाको शव फेला परेको, २२७ जनाको उद्धार गरिएको र ३९ जना अझै बेपत्ता रहेको बासारनासले जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ । उद्धार गरिएका यात्रुमध्ये अहमद अब्दुल करिमले तल्लो सवारी डेकमा रहेको एउटा ट्रकबाट आगो सुरु भएको बताउनुभयो । उहाँका अनुसार आगलागी सुरु भएको केही समयमै आगो तीव्र हावाका कारण तीव्र गतिमा फैलिएको थियो र ३० मिनेटभन्दा कम समयमै सबै यात्रुलाई जहाजको अगाडिको भागमा जान निर्देशन दिइएको थियो । खोज तथा उद्धार टोलीले सुराबायाबाट उद्धार जहाज परिचालन गरेको भए पनि घटनास्थल पुग्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको थियो । सुमेनेपबाट पठाइएको एउटा उद्धार डुङ्गा खराब मौसम र उच्च छालका कारण बीचैबाट फर्किएको थियो । उद्धार कार्यमा सहयोगका लागि इन्डोनेसियाली नौसेनाले युद्धपोत पनि परिचालन गरेको थियो ।

सन् १९९२ मा जापानमा निर्माण भएको १६० मिटर लामो उक्त फेरि सन् २०१५ मा इन्डोनेसियालाई बिक्री गरिएको थियो । यसअघि ‘फेरी ओसाका’ नामबाट जापानको ओसाका–शिनमोजी रुटमा सञ्चालनमा रहेको जहाज हाल सुराबाया–मकासार रुटमा यात्रु तथा मालवाहक सेवामा प्रयोग हुँदै आएको छ । सत्र हजारभन्दा बढी टापु रहेको इन्डोनेसियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो । तर कमजोर सुरक्षा मापदण्डका कारण त्यहाँ बेला–बेलामा यस्ता समुद्री दुर्घटना हुने गरेका छन् । रासस