१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते

दूध किन्न गोठमै पुग्छन् ग्राहक

दूध किन्न गोठमै पुग्छन् ग्राहक
अ अ+ अ-

बाँके । तपाई दूध किन्नका लागि डेरी पसल वा किसानको गोठमै पुग्नुभयो भने तपाईलाई पहिलो प्रश्न सोधिन्छ, दूध कति लिटर चाहियो ? तपाईले प्रतिलिटर दूधको मूल्य सोध्दै आवश्यकताअनुसार दूध माग्नुहुन्छ । पसले वा किसान आफैँले दूध लिटरले नापेर तपाईलाई दिन्छन् । यो अहिलेसम्म चलिआएको पद्धति नै हो भन्नुपर्छ तर बाँकेको कोहलपुर नगरपालिका–११ को शीतलनगरमा एउटा घर छ, जहाँ ग्राहकले आफैँ नापेर दूध लैजान्छन् । दूध नाप्दा कहिल्यै तलमाथि हुन्न । ग्राहकले गोठमै पुगेर दुहुँदै गरेको अवस्थामा प्रतिलिटर रु ७० तिर्छन्, आफैँले लिटरमा नाप्छन् र चाहिए जति लैजान्छन् । दूध बेच्ने र किन्नेबीच मोलमोलाई हुँदैन । न त ग्राहकलाई दूध कम पर्यो कि भन्ने शङ्का नै रहन्छ ।

कोहलपुरका विष्णु पोखरेल र शारदा पोखरेलले सञ्चालन गरेको गाई फार्ममा यस्तै पद्धति बसालिएको छ । “शुरु शुरुमा गाई दुहुँदै गर्दा दूध माग्न आउँथे । हामी व्यस्त हुन्थ्यौँ । आफैैँ नापेर लैजान भन्यौँ”, विष्णुले शुरुआती दिन सम्झँदै भन्नुभयोे, “आफैं नापेर लैजान पाउँदा उहाँहरु दङ्ग, हामीलाई पनि काममा सहयोग भयो । सबै विश्वासमा चलेको छ । ग्राहकलाई शुद्ध दूध खुवाउन पाउँदा खुशी छु ।”

यस्तो अभ्यास एक दशकदेखि चलिरहेको छ । शुरुमा यो दम्पतीको गाई फार्म थियो । स्थानीयवासीलाई दुहुँदै गरेको दूध दिने बानी बस्यो । अहिले कोहलपुर नगरपालिका–८ पिपरीमा प्रकृति गाई फार्म छ । त्यहाँबाट दुहुने बित्तिकै ल्याएको दूध ग्राहकलाई दिइन्छ । फार्ममै दूध लिन आउने उहाँका ग्राहकलाई दूध लिनकै लागि फार्म मालिकलाई कुर्नुपर्दैन । “बेच्ने र किन्नेबीच विश्वास भएपछि शङ्काको कुरै रहेन”, फार्म सञ्चालक विष्णुले भन्नुभयो ।

पोखरेल दम्पतीले २०६६ सालमा खजुराबाट रु २२ हजारमा एउटा गाई किनेर व्यवसाय शुरु गर्नुभयो । अहिले उहाँको गोठमा ३५ वटा गाई छन् । तीमध्ये १७ वटा त दूध दिने नै छन् । औसत एउटा गाईले १५ लिटरसम्म दूध दिने गर्छ । उहाँले दैनिक १५० लिटर दूध बेचेर वार्षिक रु १८ लाख बचत गर्नुहुन्छ । “मल मात्र वर्षमा रु दुई लाखभन्दा बढीको बेच्दै आएको छु”, विष्णु पोखरेले भन्नुभयो, “गाई फार्ममा रु दुई करोड लगानी भइसकेको छ ।”

शिक्षित भएर गाई पाल्ने किसान, पोखरेल दम्पतीको पहिचान हो । उहाँले सफल कृषकका रुपमा केही वर्षअघि राष्ट्रपतिबाट पुरस्कार पनि पाइसक्नुभएको छ । पोखरेल दम्पती दुवै जना समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । कोहलपुरमा आफ्नै लगानीमा सञ्चालित सङ्कल्प शिक्षालयमा विष्णु प्रिन्सिपल हुनुहुन्छ भने शारदा कोहलपुरमै रहेको उपकार लघुवित्त वित्तीय संस्थामा कार्यकारी निर्देशक । पढेलेखेका व्यक्तिले गोठमा काम गर्दैनन् भन्ने समाजलाई उहाँहरुले चुनौती दिनुभएको छ ।

पाल्पाको रैनादेवीमा पुख्र्यौली घर भएका पोखरेलले नवलपरासी हुँदै बाँकेमा आएर गाईपालन शुरु गर्नुभयो । १३ वर्ष शिक्षण पेशा र आठ वर्ष भूमि अधिकारका क्षेत्रमा लाग्नुभएका पोखरेल अहिले शिक्षालय र गाईपालनको काम सँगसँगै अघि बढाउनुभएको छ । “कुनै पनि काम ठूलो सानो हुँदैन । सबै कामका आफ्नै महत्व हुन्छन्”, विष्णुले भन्नुभयो, “गोठमा काम गर्दा गोबर फाल्नुपर्छ । गोठको काम सकेर मात्र घर परिवारलाई समय दिन्छौँ ।”

गोठमा एक जनामात्र कामदार छन् । गाई दुहुने, सरसफाइ गर्ने र घाँस दाना दिने सबै काम पोखरेल दम्पतीकै जिम्मा हो । बिहान ३ बजेदेखि उहाँहरुको दैनिकी शुरु हुन्छ । “काम सकेर ९ बजे अफिस जान्छु”, शारदाले भन्नुभयो, “दिउँसो ३ बजेदेखि दूध दुहुन शुरु हुन्छ । अफिसबाट ५ बजे आएर राति ९ः३० बजेसम्म फार्ममा काम गर्छु ।” यसबाट पोखरेल दम्पती पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ ।

“रक्सी बेचेको भए म रातारात धनी हुन्थे होला । घर परिवारमै बसेर समाजलाई दूध खुवाएर स्वास्थ्यका लागि फाइदा हुने काम गरेको छु”, विष्णुले सन्तुष्टि व्यक्ति गर्दै भन्नुभयो, “छ महीनाको बच्चादेखि १०३ वर्षको हजुरआमालाई दूध खुवाउन पाएकोमा खुशी छु । उहाँहरु मेरो ऊर्जा र प्रेरणाको स्रोत हो ।” उहाँले दूधमात्र होइन, मलमूत्रबाट पनि फाइदा लिनुभएको छ । “बारीमा रासायनिक मल र विषादी नहालेको तरकारी फलाउँछु र खान्छु”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेसम्म रु पाँच लाख सरकारी अनुदान पाउनुभएको छ । प्रदेश सरकारबाट रु चार लाख र कोहलपुर नगरपालिकाबाट रु एक लाख पाउनुभएको छ । अनुदान वितरणको मापदण्ड नै उहाँलाई चित्त बुझेको छैन । “३५ वटा गाई पाल्दा पनि रु चार लाख पाएँ । चार÷पाँच वटा गाई हुनेले पनि यतिनै रकम पाएका छन् । पाल्दै नपाल्नेले अनुदान पाएका छन् । यो निकै अन्यायपूर्ण छ । सरकारले नै अनुदान वितरणको मापदण्ड बनाउनुपर्छ”, उहाँको भनाइ छ ।

“मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य छ”, विष्णुले भन्नुभयो, “देश समृद्ध बनाउने कृषिबाटै हो । कृषि आर्थिक क्षेत्रको मेरुदण्ड नै हो । यहाँ त जग्गा बाँझो राखेर बेरोजगार छु भन्ने गलत प्रवृत्ति छ ।” उहाँले गाई पालेर कोहलपुरमा १० कोठे दुई तले घर बनाउनुभएको छ ।

गोठ बनाउन १० कट्ठा जग्गा किन्नुभयो । दुई छोरीमध्ये उनीहरुकै रुचिअनुसार जेठी प्रज्ञालाई नयाँ दिल्लीमा चाटर्ड एकाउण्टेन्ट र कान्छी प्रकृतिलाई काठमाडौँमा बिबिए पढाउनुभएको छ ।