काठमाडौँ। साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गर्नुभएको छ ।
‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उहाँले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको उहाँको तर्क छ ।
उहाँले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको बताउनु भयो । साहित्यकार संग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गर्नुभयो ।
इतिहासको सन्दर्भ जोड्दै उहाँले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै उहाँले चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताउनु भयो ।
संग्रौलाकाअनुसार धेरै मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गरे पनि उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए ।
उहाँकाअनुसार चितवन र नवलपरासीभरिका मतदाताले घण्टीमा भोट त हाले तर उम्मेदवार को हो भन्दा बालेन भन्ने गरेका थिए । कर्मको आधार र तार्किकतामा विचार नगर्ने यस्तो प्रवृत्तिलाई उहाँले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ संज्ञासँग तुलना गर्नुभयो ।
नेतृत्वको परिभाषा गर्दै संग्रौलाले सफल नेतामा वक्तृत्व कला र आकर्षक एजेण्डा हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार नेताले आफ्ना एजेण्डा वा भ्रमलाई यसरी प्रश्तुत गर्छ कि सर्वसाधारण उसको वरिपरि केन्द्रित हुन्छन् ।
नेपालको सन्दर्भमा मदन भण्डारीलाई उहाँले ‘करिस्मेटिक’ नेताको रूपमा चित्रण गर्नुभयो । जसमा वक्तृत्व, तर्कशीलता र आक्रामकताको अद्भुत मिश्रण थियो ।
पछिल्लो समय उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रसङ्गमा टिप्पणी गर्दै संग्रौलाले उहाँले भ्रम र यथार्थको सम्मिश्रणबाट आफ्नो वरिपरि ठूलो भीड जम्मा गर्न सफल भएको बताउनु भयो । यद्यपि, लामिछानेको कानूनी जटिलता (नागरिकता÷राहदानी मुद्दा) का कारण उहाँले कार्यकारी प्रमुखको भुमिकामा बस्न नमिल्ने परिस्थिति सिर्जना भएको उहाँको विश्लेषण छ । सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि आएको संग्रौलाले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समाज वा समूह, जनता अथवा मास जे भन्नुहोस्, त्यसको आफ्नै भेडोपन हुन्छ । इतिहासका विभिन्न सन्दर्भमा यो देखिएको छ । पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पछाडि मानिसहरू यसरी लाइन लागे कि कति आशाले, कति त्रासले र कति भावनामा बगेर मतदान गरे होलान् । जहाँसम्म नजर पुग्थ्यो, माओवादीकै पक्षमा मतदान गर्न लाइन लागेको देखिन्थ्यो । तर दोस्रो संविधानसभा निर्वाचनमा त्यो भीड कहाँ हरायो ? यसपटक पनि एउटा चाखलाग्दो घटना देखियो । निर्वाचन परिणामपछि नेपाली समाजको मनोविज्ञान बुझ्न म केही साथीहरूसँग चितवनदेखि नवलपरासीसम्म तीन दिन घुमेँ। विभिन्न ठाउँमा धेरै मानिससँग कुराकानी गरियो। सोध्यौँ, भोट हाल्नुभयो ? जवाफ आयो, हाल्यौँ । कसलाई ? घण्टीलाई । उम्मेदवार को थियो ? बालेन । चितवनभरि उम्मेदवार बालेन, नवलपरासीभरि पनि उम्मेदवार बालेन। मतदान गरेका छन् तर वास्तविक उम्मेदवार को थियो भन्ने थाहा छैन । कर्मको आधार, त्यसको परिणति र तार्किकताबारे विचार नगरी निर्णय गर्ने प्रवृत्तिलाई नै गणेशमानको भेडोपन भन्न सकिन्छ । त्यसैले समाज वा सामाजिक मनोविज्ञानको चर्चा गर्दा यो भेडोपनबारे पनि बहस हुनुपर्छ ।
अब नेता र राजनीतिको सन्दर्भमा । असल र सफल नेतामा केही विशिष्ट गुण हुन्छन् । प्रभावशाली वक्तृत्व, आकर्षक एजेण्डा र जनतालाई प्रभावित गर्ने क्षमता हुन्छ । आफ्ना एजेण्डा, नारा वा प्रश्तुत गर्न खोजेको विचारलाई यति प्रभावकारी ढंगले प्रश्तुत गर्छ कि ठूलो जनसमूह आफ्नो वरिपरि आकर्षित गर्न सक्छ । नेपालमा मदन भण्डारी त्यस्ता नेता हुनुहुन्थ्यो, जसमा वक्तृत्व, तर्कशीलता र आक्रामक प्रश्तुतिको करिष्मा थियो ।
त्यसपछि रवि लामिछाने आउनुभयो । उहाँ को हुनुहुन्छ, कुन स्रोतबाट आउनुभयो भन्ने विषयमा म टिप्पणी गर्दिनँ । उहाँ मन पर्नु वा नपर्नु मेरो निजी कुरा हो । रवि लामिछानेले विभिन्न यथार्थ र भ्रम प्रश्तुत गर्दै आफ्नो वरिपरि ठूलो जनसमर्थन जुटाउनुभयो । हुन त भीड बालेनको पछि लागेको थियो, तर त्यो राजनीतिक शक्तिको बिजारोपण रवि लामिछानेले नै गर्नुभएको थियो । दुर्भाग्यवश, कानूनी विवादका कारण उहाँ कार्यकारी प्रमुख बन्न सक्नुभएन र त्यसपछि बालेनजी कामचलाउ पात्रका रूपमा अगाडि आउनुभयो ।’
समाज र राजनीतिबीचको अन्तरसम्बन्धमा केन्द्रित सो कार्यक्रममा संग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय लिन नसकेसम्म राजनीतिको स्वरूपमा ठोस परिवर्तन आउन कठिन रहेको सङ्केत गर्नुभयो । –न्युज एजेन्सी नेपाल










