काठमाडौं । पूर्वगृहमन्त्री ओम प्रकाश अर्यालले सुनसरीमा भएको हिंसात्मक घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन र साम्प्रदायिक विद्वेष फैलिन नदिन सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अर्यालले साम्प्रदायिक सद्भाव नै विविधताबीच एकता कायम राख्ने आधार भएकाले कानुनी शासनको जगेर्ना गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन्।
उनले यस्ता संवेदनशील विषयमा संघीय, प्रदेश र स्थानीय सरकार, राज्य संयन्त्र, समुदाय तथा नागरिकबीच सद्भावपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन्।
अर्यालले आवेगभन्दा विवेकका आधारमा अघि बढ्न, स्थिति सामान्यीकरण गर्दै शान्ति–सुव्यवस्था कायम गर्न र अहिंसाको मार्ग अपनाउन सबैमा आग्रह गरेका छन्। “अहिंसा परमो धर्म” को अभ्यास गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप बलियो बनाउनुपर्ने उनको भनाइ छ।











