काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं संसदीय सुनुवाई समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको भावी कार्यक्षमता र निष्ठाप्रति प्रतीकात्मक प्रश्न गर्नुभएको छ ।
मंगलबार संसदीय सुनुवाई समितिमा प्रस्तावित निर्वाचन आयुक्त सुब्बाको सुनुवाईका क्रममा सभापति श्रेष्ठले उहाँको कार्यकाल सकिएर बिदाइ हुने दिन आफूले दिने भाषण कस्तो होला भनेर अनुमान गर्नुभएको छ कि छैन भन्दै प्रश्न गर्नुभएको हो ।
श्रेष्ठले भन्नुभयो, ‘तपाईंको बिदाइको दिन म सांसद नरहे पनि मलाई बोलाउनुहोला । त्यो दिन मैले तपाईंको कार्यकाल र व्यक्तित्वका बारेमा कस्तो भाषण गर्छु होला भन्ने केही अनुमान गर्नुभएको छ ?’
उहाँले डा. सुब्बाको भावी कार्यसम्पादनलाई लिएर आफूले एउटा दृश्य कल्पना गरेको बताउँदै अवकाशपछि हुने बिदाइ समारोहमा आफ्नो एक मिनेटको भाषण कस्तो होला भनेर त्यसको ड्राफ्ट तयार गर्नसमेत आग्रह गर्नुभयो ।
‘तपाईं उमेरका हिसाबले अझै करिब ६ वर्ष काम गर्न पाउनुहुन्छ, होइन ? त्यसो भए तपाईंको कार्यकाल करिब २०८९ सालसम्म पुग्ने रहेछ, हाम्रोभन्दा अलि लामो,’ श्रेष्ठले भन्नुभयो ।
सभापति श्रेष्ठले प्रस्तावित आयुक्त सुब्बाविरुद्ध हालसम्म कुनै उजुरी नपरेको उल्लेख गर्दै त्यसप्रति आफूहरूलाई पनि गर्व लागेको बताउनुभयो । उहाँले आगामी कार्यकालमा पनि सुब्बाले निष्पक्ष, निष्ठावान् र प्रभावकारी ढंगले काम गर्न सक्नुपर्ने संकेत गर्दै भविष्यमा आफ्नो बिदाइका क्रममा आफूले गर्ने भाषण अहिले नै अनुमान गर्न सकिने अवस्था बनाउन आग्रह गर्नुभयो ।
श्रेष्ठको प्रश्नले प्रस्तावित निर्वाचन आयुक्त सुब्बाको भावी कार्ययोजना, कार्यसम्पादन र त्यसको प्रभावकारिताप्रति संसदीय सुनुवाई समितिको चासो झल्काएको छ ।











