११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी



अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारीले ऐतिहासिक सामग्रीको संकलन र इतिहासको संरक्षणको लागि आवश्यक कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको भाषा, संस्कृति र सभ्यताको संरक्षणका सरोकारवाला सबै गम्भीर बन्न जरुरी रहेको समेत बताउनु भयो ।

उहाँले आर्थिक, राजनीतिक, कानुनी, सांस्कृतिक तथा भेषभूषासहित सबै क्षेत्रको इतिहास व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भाषा, संस्कृति र राष्ट्रिय पहिचानप्रति नागरिकको चासो घट्दै गएको भन्दै विद्यालयत तहदेखि नै इतिहासबारे अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । उपाध्यक्ष भण्डारीले नेपाली चाडपर्व, परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक इतिहास, राजनीतिक इतिहास, कानूनी इतिहास, सांस्कृतिक इतिहास, भेषभूषा सबैको इतिहास बन्नुपर्छ । हामी भर्खरै चीन भ्रमण गरेर आएका छौँ । जापानी साम्राज्यवादले चाइनामाथि हमला गर्दा कस्तो अवस्था थियो ? त्यो बारेमा सबै कुराको हामीले भौतिक उपस्थिति मै अवलोकन गर्न पायौँ । त्यहाँ विद्यार्थीहरूलाई पहिले आफ्नो भाषा, संस्कृति, देश पढाइन्छ । तर हाम्रो यहाँ चाहिँ देश पढाइँदैन, भाषा संस्कृति पनि अब आयातित हुन थाल्यो । हामी बोल्दाखेरी एक दुई शब्द घुसाउँदा पनि हामीले विश्वविख्यात व्यक्ति ठान्छौँ । त्यसैले गर्दा हामी आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो सभ्यतालाई बिर्सँदै गएका छौँ । हामी आज आमा बुवा भन्न छोडेर अर्काको आयातित भाषा मम् ड्याड भन्नेतिर लागिसक्यौँ । हाम्रा चाडपर्वहरु र परम्पराहरु संरक्षणमा ध्यान दिनुपर्ने हुन्छ । अहिले सबै कुरा लोप हुन लागेको अवस्था छ । यो कुरामा हामी गम्भीर हुन जरुरी छ । आवश्यक कानून निर्माण गरी हामीले इतिहासको संरक्षणमा ध्यान दिनुपर्छ ।’

उहाँले बिरोधाभास रहेको राजनीतिक इतिहासलाई समेत तथ्यसहित एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल