१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन

बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन
अ अ+ अ-

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, उचित खानपान, पोषण र पुनःस्थापनाको अवस्था सुधार गर्न सरकारलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’को प्रतिवेदन–२०८३ माथि छलफल गर्दै समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहमा रहेका बालबालिकालाई कैदीबन्दीसरहको खाना उपलब्ध गराइनु उपयुक्त नभएको बताइन्। उनले बालबालिकाको उमेर, शारीरिक तथा मानसिक विकासअनुकूल पोषणयुक्त आहारको व्यवस्था गर्नु राज्यको दायित्व भएको उल्लेख गरिन्।

सभापति बास्कोटाले विशेषगरी रुपन्देहीसहित क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको तत्काल अनुगमन गरी व्यवस्थापन सुधार गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्। उनले बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य, शिक्षा, पोषण र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

बैठकमा समितिले सांसदहरूले उठाएका विभिन्न सार्वजनिक सरोकारका विषयमा पनि छलफल गरेको छ। सभापति बास्कोटाका अनुसार नागरिकता सम्बन्धी समस्या, उप्साहकोट पहिरोपीडितको व्यवस्थापन, सप्तरी कारागारको स्थानान्तरण तथा अन्य विषयमा गृह मन्त्रालयसहित सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ।

अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतले गृहमन्त्रीसँग भेट्न चाहेको विषयमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग र समस्या सम्बन्धित मन्त्रीसमक्ष राख्न पाउने अधिकार रहेको उल्लेख गर्दै भेटघाटको आवश्यक व्यवस्था मिलाइदिन गृह मन्त्रालयलाई आग्रह गरिने बताइन्।

सप्तरी कारागारमा भएको आत्मदाह प्रयास र क्षमताभन्दा बढी कैदीबन्दीको समस्याबारे प्रशासनले तत्काल अवस्था नियन्त्रणमा लिए पनि दीर्घकालीन समाधान आवश्यक रहेको उनको भनाइ थियो।

कलाकार दुर्गेश थापा र प्रियंका कार्की आबद्ध ‘मास्टर्नी’ गीतको विवादका सम्बन्धमा सम्बन्धित पक्षले सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको र भिडियो आधिकारिक च्यानलबाट हटाइसकिएकाले समितिले यस विषयमा थप प्रक्रिया आवश्यक नदेखेको जनाएको छ।

सभापति बास्कोटाले न्यायिक प्रक्रिया र अनुसन्धानलाई प्रभावकारी बनाउन प्रमाण संकलन, संरक्षण तथा अभियोजन प्रणालीलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउनुपर्नेमा जोड दिइन्। उनले जापानजस्ता मुलुकको उदाहरण दिँदै विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण र प्रमाण व्यवस्थापन सुधार भए मात्रै न्याय सम्पादन प्रभावकारी हुने धारणा राखिन्।

समितिले बाल सुधार गृहसम्बन्धी प्रतिवेदन छिट्टै प्रतिनिधिसभामा पेश गर्ने तथा प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई आवश्यक निर्देशन र सुझाव दिने निर्णय समेत गरेको छ।