काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास अझै पनि जारी रहेको बताएका छन्। उनले एमाले कुनै अर्को शक्तिको आडमा टिकेको पार्टी नभई आफ्नै बल र आधारमा अघि बढ्दै आएको दल भएको बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट र मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न राजनीतिक चुनौती र धक्काबीच पनि एमाले कमजोर नभएको दाबी गरे। उनका अनुसार पार्टीले केही कठिनाइ भोगे पनि त्यसबाट थप सुदृढ र नवीकृत भएर अघि बढ्ने क्षमता राख्छ।
ओलीले एमालेलाई अरूको सहारामा उभिनुपर्ने दलका रूपमा चित्रण गर्न खोजिएको संकेत गर्दै त्यसलाई अस्वीकार गरे। उनले एमालेलाई आँधी, हुरी, बाढी र अनेक चुनौतीको सामना गर्दै हुर्किएको “स्वतन्त्र र विशाल वृक्ष”सँग तुलना गरे।
उनले भने, “एमाले कसैलाई समातेर मात्रै अघि बढ्ने लहरो होइन। यो आफ्नै जगमा उभिएको पार्टी हो, जसले आफ्नै बलमा यात्रा तय गरेको छ।”
अध्यक्ष ओलीले भविष्यमा पनि एमाले आफ्नै शक्ति, संगठन र जनसमर्थनका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे। चुनौतीहरूबाट विचलित नभई त्यसको सामना गर्दै सफलता हासिल गर्ने पार्टीको क्षमता रहेको उनको भनाइ थियो।
उनले अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने स्वभाव एमालेको नभएको उल्लेख गर्दै पार्टीले परिस्थितिअनुसार आफूलाई निरन्तर परिमार्जन र सुदृढ बनाउँदै लैजाने बताए।











