२५ असार २०८३, बिहीबार
,
Latest
सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारी र सडक विभागको गैरजिम्मेवारीका कारण करोडौंका आयोजना अलपत्र



अ+ अ-

काठमाडौं । ठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ । सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा तारकेश्वर नगरपालिकाका लाखौं सर्वसाधारण हैरानी भोग्न बाध्य छन् । नगरपालिकामा निर्माणाधीन शेषमती–सानोपुल–सनफ्लावर स्कुल–बोहोराटार सडकखण्ड र अष्टनारायण–शेषमती–लामबगर–काभे्रस्थली सडकखण्ड निर्माण सुरु भएको लामो समयसम्म पनि अलपत्र अवस्थामा छ ।

समयमै सडक निर्माण नहुँदा घामलाग्दा धुलो र पानी पर्दा धुलोको समस्याले स्थानीय आक्रान्त बन्न गरेका छन् । शेषमती–बोहोराटार सडकखण्ड नगरपालिकाको योजनामा सञ्चालित आयोजना हो भने र अष्टनारायण–काभे्रस्थली केन्द्रीय योजनाअन्तर्गत सडक विभागको योजना हो । नगरपालिकाको मुख्य प्रवेशद्वार र चक्रपथ नजिक पर्ने यी महत्वपूर्ण सडकखण्ड विभिन्न बहानामा अलपत्र बन्दै आएका छन् ।

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा ठेकेदार कम्पनीको लापरवाही, वर्षा र झन्झटिलो ठेक्का प्रणालीको कारण काममा ढिलाइ भएको स्विकार्छन् । ‘ठेकेदार कम्पनीले जिम्मेवारी वहन गर्न नसक्दा योजना अलपत्र बन्ने गरेका छन् । वर्षा र झन्झटिलो ठेक्का प्रणालीका कारण पनि योजनाहरू समयमै सम्पन्न हुन सकेनन्,’ बोहोरा भन्छन् । शेषमतिदेखि सनफ्लावरसम्मको बाटोको २० प्रतिशत मात्र काम सम्पन्न भएको नगर प्रमुख बोहरा बताउँछन् ।

यस सडकखण्डको निर्माण गत असार मसान्तसम्ममा सम्पन्न भइसक्नुपर्ने थियो । समयमा काम सम्पन्न नभएपछि नगर कार्यपालिकाको बैठकबाट ६ महिना समय थप गरिएको नगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध तथा सिमाना विवादका कारण समेत समयमा सम्पन्न हुन नसकेको नगरपालिकाको दाबी छ । अहिले सो बाटोको मर्मत थालिए पनि गति भने लिन सकेको छैन ।

नगरपालिकाका अनुसार नगरपालिका क्षेत्रमा १३ करोडमा १२ नगरस्तरीय सडक परियोजना निर्माणको काम भइरहेको छ भने केही केन्द्रीयस्तरका योजना चालू अवस्थामा छन् ।
सडक निर्माणमा भएको ढिलासुस्तीका कारण सडक स्तरोन्नति, कालोपत्रे र नयाँ निर्माणका नाममा भत्काइएका सडक लामो समयसम्म पनि बन्न नसक्दा समस्यामा परेको स्थानीय बताउँछन् ।

तारकेश्वर नगरपालिका शेषमती–सानोपुल–सनफ्लावर स्कुल जाने डेढ किलोमिटर सडक निर्माणको जिम्मा नगरपालिकाले ठेक्कामार्फत गौरीशंकर कन्सट्रक्सनलाई दिएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ९ लाख विनियोजन गरेको थियो ।

चालू आर्थिक वर्षमा सोही बाटोका लागि ७० लाख रुपैयाँ थप गरिएको तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले जानकारी दिए । यसैपटक शेषमतिदेखि सनफ्लावर स्कुलसम्ममै बाटो पिच हुने प्रशासकीय अधिकृत सुवेदीले बताए ।

अष्टनारायण काभ्रेस्थली बाटो अलपत्र अष्टनारायण–काभ्रेस्थलीअन्तर्गतको ५.५ किलोमिटर सडकखण्ड ५३ करोडको परियोजना हो । २०७४ सालबाट निर्माण सुरु भएको सडकखण्ड दुई वर्ष बितिसक्दा समेत आधा कामसमेत हुन सकेको छैन । तर, सडक विभागले भने ६५ प्रतिशत बढी काम सम्पन्न भएको दाबी गरेको छ । नगरपालिका र सडक विभागसँग समन्वय गरिरहेको इन्जिनियर कञ्चन भट्टले अहिलेसम्म सडकखण्डमा ढल निर्माणको काम सम्पन्न भएको बताए ।

फुटपाथका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । ६५ प्रतिशत काम सम्पन्न भई भुक्तानीको काम सकिएको इन्जिनियर भट्टले बताए । सो सडकखण्डको जिम्मेवारी सीएम कन्सट्रक्सनले पाएको छ ।सडक निर्माणको काम शिव मन्दिरसम्म आइपुगेको र स्थानीयसँगको जग्गा विवादका कारण अवरोध आएको ठेकेदार कम्पनीको दाबी छ । राजधानी दैनिकबाट