• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

राष्ट्रपति सीको नेपाल भ्रमण: केरुङ सुरुङमा सुरुवात, रेलमार्ग निर्माणमा पनि सघाउने वचन



चार किमि लामो टोखा–छहरे, २० किमि लामो बेत्रावती–स्याफ्रुबेँसी सुरुङमार्ग बनाउन चीनको सहयोग

चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको छ । त्यस्तै, सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएका छन् । काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आइतबार सहमति हुँदै छ । सडक विभागका अनुसार टोखा–छहरे सुरुङमार्ग करिब चार किलोमिटर लामो हुनेछ ।

त्यस्तै, रसुवाको बेत्रावतीबाट स्याफ्रुबेँसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण हुनेछ । २० किलोमिटर लामो यो सुरुङमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै सुरुङमार्गको अध्ययन सुरु हुनेछ । आइतबार उच्चस्तरीय वार्तामा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘नेपालको सीमासम्म रेल्वे विस्तारमा भौगोलिक कठिनाइ भए पनि हामीसँग संसारभरको अनुभव छ, हाम्रा (चिनियाँ) प्राविधिक अनुभवी छन्,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘महामहिमले विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) र रेल्वे निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

त्यस्तै, राष्ट्रपति सीले तीन वर्षमा आउने गरी नेपाललाई ५६ अर्ब रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका छन् । राष्ट्रपति भण्डारीसँग द्विपक्षीय वार्ताका क्रममा उनले सहयोग घोषणा गरेका हुन् । भण्डारी र सीबीच साँझ ६ः४० बाट करिब एक घन्टा भेटवार्ता भएको थियो । भेटर्वार्तामा भ्रमण टोलीमा संलग्न चिनियाँ अधिकारी र नेपालका तर्फबाट राष्ट्रपति कार्यालयका अधिकारी सहभागी थिए । चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको दोस्रो दिन आइतबार नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता हुँदै छ ।

नेपालबाट प्रधानमन्त्री केपी ओली र चीनबाट राष्ट्रपति सीले नेतृत्व गर्ने प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा नेपालले उच्च तहको राजनीतिक सद्भाव वृद्धिसहित कनेक्टिभिटीलाई मुख्य विषय बनाउँदै छ । ‘२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमण आफैँमा अत्यन्त महत्वपूर्ण छ, औपचारिक वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा बृहंगम छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘उच्च राजनीतिकस्तरमा थप विश्वासको वातावरण बनेको छ ।

यसलाई बढावा दिँदै कनेक्टिभिटी, पारवहन, विकास, सीमा सुरक्षालगायत मुद्दामा छलफल केन्द्रित गर्नेछौँ ।’ राष्ट्रपति सी उच्च चिनियाँ अधिकारीसहित शनिबार अपराह्न विशेष विमानबाट काठमाडौं अवतरण गरेका हुन् । उनले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा वार्ता गरेका छन् भने दुई देशबीच कार्यकारी प्रमुखको तहमा औपचारिक वार्ता आइतबार बिहान होटेल सोल्टीमा हुनेछ ।

उच्चस्तरीय वार्तामा के हुँदै छ ?
प्रधानमन्त्री ओली र राष्ट्रपति सीले नेतृत्व गर्ने द्विदेशीय उच्चस्तरीय वार्तामा नेपालले विगतमा झैँ एक चीन नीतिमा प्रतिबद्धता जनाउनेछ । नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने तथा नेपाल चीन सीमामा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने वचनबद्धता नेपालले जनाउनेछ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीका विषयमा थप छलफल हुनेछ । नेपालले चीनबाट बढी अपेक्षा अनुदानको गर्नेछ ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनमा नेपालले जोड दिनेछ । ‘हाम्रो मुख्य विषय कनेक्टिभिटी हो । यसलाई बढावा दिने गरी सडक, रेलमार्ग, सञ्चारका विषयमा सहमतिपत्र आदनप्रदान हुनेछ । प्रधानमन्त्रीकै अग्रसरतामा सम्पन्न भएको पारवहन तथा यातायातसम्बन्धी सम्झौताको प्रोटोकल कार्यान्वयन हुने परियोजना तय हुनेछन्,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने ।

उच्चस्तरीय वार्तापछि केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति तथा टोखादेखि नुवाकोटको छहरेसम्म र रसुवाको बेत्रावतीदेखि स्याफ्रुबेँसीमा सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । भट्टराईका अनुसार काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तारसम्बन्धी समझदारीपत्र हुनेछ । तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र आदनप्रदान हुनेछ । चीनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बनाइदिनेसम्बन्धी सहमतिपत्र आदनप्रदान हुनेछ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा यससम्बन्धी छलफल भएको थियो । कृषि र पर्यटनसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ । गल्छी–केरुङ जलविद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीको तयारी छ । आइतबारै नेपाल र चीनबीच संयुक्त वक्तव्य जारी हुनेछ ।

वार्तामा को–को सहभागी हुँदै छन् ?
उच्चस्तरीय वार्तामा नेपालबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादवसहित उच्च अधिकारी सहभागी हुनेछन् ।

चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ् यी, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, सिपिसीका पोलिटब्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्वविदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनिस्टर इन्चार्ज हे लिफेङसहितका उच्च अधिकारी हुनेछन् ।

देउवासँग ‘वान अन वान’ वार्ता
चिनियाँ राष्ट्रपति सीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिष्टाचार भेटघाट गरेका छन् । सोल्टी होटेलमा भएको ‘वान टु वान’ वार्तामा दुई देशबीचको सम्बन्ध, विकास निर्माणमा चिनियाँ सहयोगलगायत विषयमा छलफल भएको देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए । ‘उहाँहरूबीच औपचारिक शिष्टाचार भेटघाट भयो,’ देउवाले नयाँ पत्रिकासँग भने, ‘दुई देशबीच रहँदै आएको सम्बन्ध र विकास निर्माणमा चीनले गरेको सहयोगको विषयमा छलफल भयो ।’

पहिला कांग्रेसका नेताहरूलाई सामूहिक भेटघाट गर्ने तयारी भए पनि नमिलेपछि ‘वान टु वान’ वार्ता भएको थियो । ‘राष्ट्रपति सीसँगको भेटवार्तामा सभापतिसहित पार्टी पदाधिकारी पनि सहभागी हुने कुरा थियो तर मिलेन । त्यसपछि सभापतिले मात्रै वान टु वान वार्ता गर्नुभयो,’ देउवाको सचिवालयले भन्यो ।

प्रचण्डको नेतृत्वमा नेकपा टोलीसँग वार्ता
सीसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिनिधिमण्डलले शिष्टाचार भेटर्वार्ता गर्ने भएको छ । प्रचण्ड नेतृत्वको नेकपाको टोलीलाई सोल्टी होटेलमा आइतबार बिहान १०ः३० बजे भेटवार्ताका लागि समय छुट्याइएको छ ।

महासचिव विष्णु पौडेलका अनुसार अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने नेकपाको प्रतिनिधिमण्डलमा पार्टी सचिवालयका सदस्यहरू सहभागी हुनेछन् । स्रोतका अनुसार नेकपाको टोलीलाई छुट्याइएको करिब ४५ मिनेट समयमा पहिले प्रतिनिधिमण्डलले भेटवार्ता गरेपछि अध्यक्ष प्रचण्डले वान टु वान बेग्लै वार्ता गर्ने गरी व्यवस्थापन गर्न खोजिएको छ । ‘प्रतिनिधिमण्डलको भेटपछि अध्यक्षले अलग्गै पनि भेटर्वार्ता गर्ने भनिएको छ, तर समय कति हुन्छ, नेकपाको टोलीलाई व्यवस्थापन गरिएको समयमै भर पर्छ,’ प्रचण्डनिकट स्रोतले भन्यो । नयाँ पत्रिका दैनिकबाट