काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा म्यान्मार भ्रमणका क्रममा बुधबार साँझ राजधानी नेपित पुग्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँलाई म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गर्नुभएको थियो ।
नेपाल वायुसेवा निगमकाे विमानबाट म्यान्मार पुग्नुभएका राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहारका साथ स्वागत गरेका थिए । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्मारको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान राष्ट्रपति कार्यालयमा भेटवार्ता हुनेछ । राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही भवनमा भेट गर्नुहुनेछ ।
बिहिबार नै म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका सेनाप्रमुखले भेट गर्नुहुनेछ । त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ ।