१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला



अ+ अ-

तनहुँ। तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो ।

प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक रहेका थिए । तीमध्ये सात महिला, दुई पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक फेला परेका छन् । बाँकी व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले हराएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले परिवारबाट प्राप्त उजुरी र सूचनाका आधारमा विभिन्न जिल्लासँग समन्वय गरी खोजतलास कार्यलाई तीव्र बनाइएको जानकारी दिनुभयो ।

“हराएका व्यक्तिहरूलाई सकुशल फेला पार्न प्रहरी निरन्तर सक्रिय छ,” प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “खोजतलास कार्यलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी इकाइ तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छौँ ।”

त्यसैगरी, जेठमा जिल्लाभर ५१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तीन, आर्थिक अपराधसँग सम्बन्धित छ तथा अन्य ३२ वटा मुद्दा रहेका छन् ।

प्रहरीका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका ३७ जना प्रतिवादी पक्राउ परेका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै कानुनको कार्यान्वयनमा जोड दिइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ ।

फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । जेठ महिनामा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । पक्राउ परेका प्रतिवादीबाट चार वर्ष दुई महिनाको कैद तथा रु दुई लाख २१ हजार बिगो तथा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक घिमिरेले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताउनुभयो ।

“अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको छ,” उहाँले भन्नुभयो, “समुदायको सहयोग र सूचनाका आधारमा अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउँदै जानेछौँ ।” रासस