काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बीआरआई वा अन्य कुनै पनि द्विपक्षीय समझदारीमार्फत सहकार्य गर्न नेपाल खुला रहेको तर त्यसका लागि दुवै पक्षले स्वीकार गर्ने वित्तीय मोडालिटी आवश्यक हुने बताउनु भएको छ ।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह मन्त्री खनालले भन्नुभयो परियोजनाले दीर्घकालीन आर्थिक प्रतिफल दिन सक्ने, कार्यान्वयनयोग्य र पारस्परिक रूपमा सहमत हुनुपर्नेछ । उहाँले भन्नुभयो “बीआरआई सहकार्य अन्तर्गत अघि बढ्ने परियोजनामा वित्तीय मोडालिटी, आर्थिक प्रतिफल र आपसी सहमतिलाई मुख्य आधार बनाइने छ । ”
नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको र सन् २०२४ मा समझदारी तथा फ्रेमवर्क तहका सहमति भएको उल्लेख गर्दै उहाले भन्नुभयो “अब परियोजना छनोट र कार्यान्वयनमा व्यावहारिक पक्षमा केन्द्रित हुनु पर्दछ । ”
परराष्ट्रमन्त्री खनालले चीन भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षीसँग यिनै विषयमा छलफल हुने संकेत गर्दै नेपालको आवश्यकता, परियोजनाको प्रतिफल र कार्यान्वयन ढाँचालाई प्राथमिकतामा राखिने बताउनु भयो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नुभएको हो ।
चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने तालिका छ ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।











