• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी ★   संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश ★   सरकारको वार्षिक प्रतिवेदन आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश ★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ?

बङ्गुरपालनमा बढ्दो आकर्षण



बागलुङ । मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । जैमिनी नगरपालिका–१० राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीष व्यावसायिक बङ्गुरपालनमा लागेको पाँच वर्ष बित्यो । श्रीषसँगै सोही ठाउँका २० किसानले बङ्गुरपालन गर्छन् ।

एक/दुईवटा मात्र पाल्ने किसानको सङ्ख्या त्यो भन्दा बढी छ । माझगाउँ, श्रीषगाउँ, ओखले, देवलधारालगायतका ठाउँमा बङ्गुरपालन हुँदै आएको छ । “बङ्गुरपालनबाट किसानलाई राम्रो फाइदा छ”, श्रीषले भन्नुभयो, “पहिले थोरै पाल्नेले पनि अहिले बढाएका छन्”, श्रीषकोमा अहिले सात माउ बङ्गुर छन् । चार ब्याउने छन् ।

एउटै बङ्गुरले १६ सम्म पाठापाठी जन्माएको अनुभव उहाँसँग छ । माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । किसानले पाठापाठी बेच्दा बढी मूल्य पाउँछन् । एक महीना पुगेका पाठापाठी रु तीन हजार ५०० मा बिक्री हुने गरेको छ । मासुको रुपमा बेच्दा प्रतिकिलो रु ३०० पर्छ । श्रीषले बङ्गुरपालनबाट वार्षिक चार÷पाँच लाख जति आम्दानी हुने गरेको बताउनुहुन्छ ।

श्रीषले पालेको भाले बङ्गुर पनि कमाइको स्रोत बनेको छ । गाउँमा रहेका पोथी बङ्गुर गर्भवती बनाएवापत प्रत्येक घरले एउटा पाठो दिने गरेका छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको ओखले गाउँका किसान कृष्णबहादुर रानाले बताउनुभयो । बङ्गुर १५ महीनामा तीन पटक ब्याउँने गर्छ । एकै पटकमा १०/१२ पाठापाठी पाउँछ ।

“मासुभन्दा पाठापाठी नै बढी बिक्री हुन्छ”, रानाले भन्नुभयो, “यहाँका पाठापाठी पोखरा, काठमाडौँसम्म पुगेका छन् ।” रानाकोमा अहिले १० माउ र ३४ पाठापाठी छन् । ‘चितौरे राना बङ्गुरपालन फार्म’ नै दर्ता गरेर उहाँले बङ्गुरपालन व्यवसाय गर्दै आउनुभएको छ । बङ्गुरपालनबाट आफू सन्तुष्ट रहेको रानाको भनाइ छ ।

राङ्खानीमा बढीजसो कालो बङ्गुर पालिने हुँदा व्यवसायी र ग्राहककोसमेत रोजाइमा पर्छ । किसानलाई बङ्गुरपालनमा प्रोत्साहित गर्न जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ । केन्द्रले गत आवमा राङ्खानीका १५ किसानलाई खोर निर्माणका लागि रु १५ हजारका दरले अनुदान दिएको थियो ।

“यो वर्ष राङ्खानीमा बङ्गुरको नमूना फार्म स्थापनाका लागि प्रस्ताव आएको छ”, केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले भन्नुभयो, “स्थलगत अध्ययनपछि पूर्वाधार निर्माणलगायतमा केन्द्रले आवश्यक सहयोग गर्छ ।” केन्द्रले राङ्खानीलाई बङ्गुरपालनको ‘पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाएको छ ।

जैमिनी नगरपालिकाले पनि बङ्गुरपालक किसानलाई आर्थिक, प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । बजार मागअनुसार उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको अधिकृत पाण्डेको भनाइ छ । “मासु र पाठापाठीको माग बढ्दो छ, किसान पनि उत्साहित छन्”, उहाँले भन्नुभयो, “गाउँगाउँमा व्यवासायिक बङ्गुरपालन बढेको छ ।”

पहिले जनजाति समुदायमा बढी प्रयोग हुने बङ्गुरको मासु अहिले शहरका ठूला होटल, रेष्टुराँमा रोजाइको परिकार बन्ने गरेको उहाँको भनाइ छ । राङ्खानीसहित जिल्लाको तङ्ग्राम, दमेक, नरेठाँटी,पाण्डवखानीलगायतका ठाउँमा व्यावसायिकरूपमा बङ्गुरपालन हुँदै आएको छ ।