काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाल लाई आगामी चीन भ्रमणका क्रममा सीमा समस्याबारे स्पष्ट र दृढ धारणा राख्न सुझाव दिनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले हालैको भारत भ्रमणका क्रममा सीमा विवादको विषय स्पष्ट रूपमा नउठाएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भारत भ्रमणपछि जारी गरिएको विज्ञप्ति र संसदमा दिइएको अभिव्यक्तिमा समेत सीमा विवादलाई पर्याप्त महत्व नदिइएको दाबी गर्नुभयो ।
उहाँका अनुसार सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएकाले सरकारले यसलाई स्पष्ट रूपमा छुट्याएर कूटनीतिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ । ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउँदै छिमेकी मुलुकहरूसँग कूटनीतिक संवादलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी उहाँले आगामी चीन भ्रमणका क्रममा उक्त विषयलाई दृढतापूर्वक उठाउन परराष्ट्रमन्त्रीलाई आग्रह गर्दै कूटनीतिक टेबल र औपचारिक प्रेस नोटमा नेपालका सरोकार स्पष्ट रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।










