६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण



अ+ अ-

धादिङ। धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ ।

भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण गरिएको स्थानीय पथप्रदर्शक मार्कुस तामाङले जानकारी दिनुभयो ।

रुबीभ्याली गाउँपालिका–१ लिङ्जो गाउँका बासिन्दाले २१ दिनसम्म श्रमदान गरेर बाबिल खर्कदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको हर्ची पाससम्म गोरेटो पदमार्ग निर्माण गरेका हुन् । स्थानीय आफैले श्रमदान सुरु गरेपछि रुबीभ्याली गाउँपालिका–१ ले रु १५ लाख उपलब्ध गराएको थियो ।

पदमार्ग निर्माणका क्रममा चार हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भू–भागमा काम सम्पन्न गरेको वडाध्यक्ष पम्बर तामाङले जानकारी दिनुभयो । आगामी वर्षको बजेटबाट पर्यटक प्रतिक्षालय र अन्य पूर्वाधार निर्माणमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

पदमार्ग निर्माणका क्रममा स्थानीय युवाले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोरेका थिए भने महिलाले ढुङ्गा बोकेर सिँढी बनाउन सहयोग गरेका थिए ।

अक्सिजनको कमी हुने उचाइमा समेत स्थानीय खटिएर निर्माण कार्य सम्पन्न गरेको वडाअध्यक्ष तामाङले प्रशंसा गर्नुभयो । सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पास पुग्ने पर्यटकलाई सहज बनाएको छ ।

पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने स्थानीयले अपेक्षा गरेका छन् ।

पदमार्गले गाउँको भविष्यको बाटो कोरेको र यसबाट पर्यटन विकासमा ठूलो टेवा पुग्ने भन्दै स्थानीय अगुवा पुर्ने लामा तामाङले खुसी सुनाउनुभयो ।

राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने पाँच हजार मिटरसम्मको यो पदयात्रा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पदमार्ग महत्वपूर्ण माध्यम बन्नेछ । रासस




भर्खरै