काठमाडौँ। मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि आजदेखि यहाँ ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ कार्यक्रम सुरु भएको छ ।
मध्यपुरथिमि नगरपालिका–८ बोडेको आयोजना तथा एमेजिङ आर्ट एण्ड ट्रेनिङ सेन्टरको संयोजनमा उक्त कार्यक्रम सुरु भएको हो । शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानको सहकार्यमा आज यहाँ एक समारोहबीच कार्यक्रमको सुरुआत गरिएको छ ।
यहाँका सम्पदालाई २५ जना कलाकारले चित्रमा उतार्दै छन् । वडाध्यक्ष रमेश थापा श्रेष्ठले यस्ता चित्रले पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गरी हराएका सम्पदा पुनःनिर्माणका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ यहाँका भौतिक र अभौतिक सम्पदा, एक÷दुई सय वर्षअघि बनाएको यो वस्ती निकै सुन्दर र व्यवस्थित छन् । ठाउँ ठाउँमा पार्टी, मन्दिर छन् । खुला स्थान बनाइएको छ । आर्किटेक्टका रूपमा हेर्दा राम्रो छ । यति सुन्दर क्षेत्रलाई पर्यटकीय रूपमा अघि बढाउनुपर्छ भनेर लागेका छौँ ।”
वडाध्यक्ष श्रेष्ठले चित्रलाई बुकलेटका रूपमा प्रचारप्रसार गर्न उपयोग गरिने र सङ्ग्रहालयमा राख्ने सोच रहेको बताउनुभयो ।
कार्यक्रमका संयोजक जुजुभाई बाँस श्रेष्ठले चित्रमार्फत मध्यपुर थिमिका संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको बताउनुभयो ।
उहाँले एक सय वर्षपछि चित्र हेरेर पुरानो सम्पदा यस्तो रहेछ भन्ने थाहा पाइने र सोहीअनुसार सम्पदा निर्माण गर्न यसको महत्त्व रहेको बताउनुभयो ।
शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानका सचिव दिवेश प्रधानले उक्त कार्यक्रममा २५ जना कलाकार सहभागी भएको जानकारी दिनुभयो । उहाँका अनुसार बोडेका सात, नगदेशका एक र थिमिका १२ गरी २० सम्पदा क्षेत्र र पाँच वटा अभौतिक सम्पदा नाच तथा जात्राबारे चित्र सिर्जना हुनेछन् । ती चित्र सङ्ग्रहालयमा राख्न सकिने र पुस्तकका रूपमा समेत संरक्षण गर्न सकिने उहाँले बताउनुभयो ।
कलाकारले चित्रमार्फत दस्तावेजीकरणको भूमिका खेल्न सक्ने भएकाले विगत आठ वर्षदेखि यो अभियान जारी रहेको जनाइएको छ । चित्र निर्माण भएपछि अर्काे शनिबार यहाँ चित्रकला प्रदर्शनी हुने छ ।
वडा नं ८ का सचिव रञ्जन प्रजापतिले मध्यपुर कला संस्कृतिको धनी भए पनि दस्तावेजीकरण हुन नसकेकाले कलाकारको सहयोगमा चित्रमार्फत संरक्षण प्रयास थालिएको बताउनुभयो । रासस











