११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
अ अ+ अ-

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का विभिन्न समूहबीच लामो समयदेखि जारी संस्थागत विवादबीच सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता प्राप्त गरेको छ।

संस्थाका सचिव सुरज भण्डारीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सन् २०२५ अक्टोबरमा सुजन लामाको नेतृत्वमा रहेको एनआरएनए एनसिसी पोर्चुगलले पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता तथा नोटरी संस्था (आइआरएन) मा दर्ता तथा अद्यावधिकका लागि निवेदन दिएको थियो। उक्त निवेदनको प्रक्रिया पूरा गर्दै आइआरएनले शुक्रबार लामा नेतृत्वको कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गर्दै प्रमाणपत्र प्रदान गरेको जनाइएको छ।

सन् २००६ मा स्थापना भएको एनआरएनए पोर्चुगल पछिल्ला वर्षहरूमा नेतृत्व विवादका कारण विभाजित हुँदै आएको थियो। सन् २०२३ देखि सुरु भएको आन्तरिक मतभेदका कारण हालसम्म तीन वटा समानान्तर कार्यसमिति सक्रिय रहेका थिए, जसले संस्थागत एकता र आधिकारिकताको विषयलाई जटिल बनाएको थियो।

नयाँ निर्णयसँगै लामा नेतृत्वको समितिले पोर्चुगलमा कानुनी रूपमा मान्यता पाएको र अब एनआरएनएको नाममा हुने आधिकारिक गतिविधि यही संरचनामार्फत सञ्चालन हुने दाबी गरिएको छ। लामा नेतृत्वको पक्षले यसलाई संस्थागत स्पष्टता र वैधानिकताको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

लामाले प्रतिक्रिया दिँदै आफूहरूको प्राथमिकता विवाद नभइ समुदायको हितमा पारदर्शी र समावेशी ढंगले काम अघि बढाउनु रहेको बताएका छन्। “हाम्रो ध्यान विगत होइन, भविष्यतर्फ छ,” उनले भने, “सबैलाई समेटेर संस्थालाई कानुनी र व्यवस्थित रूपमा अघि बढाउने हाम्रो लक्ष्य हो।”

यता, समानान्तर रूपमा सक्रिय अन्य दुई समूहका नेतृत्वकर्ताहरूले भने यस निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन्। उनीहरूका अनुसार एकता प्रक्रियाबारे छलफल चलिरहेको अवस्थामा आएको यो निर्णयले थप अन्योल सिर्जना गरेको छ।

संस्थागत विवादका बीच आर्थिक पारदर्शितासम्बन्धी प्रश्न पनि उठेका छन्। सचिव भण्डारीका अनुसार संस्थाको बैंक खातामा हाल करिब ३२४ युरो मात्र मौज्दात रहेको देखिएको छ। साथै, विभिन्न कार्यक्रम तथा महाधिवेशनका क्रममा संकलित करिब २६ हजार ६५७ युरो बराबरको रकम संस्थाको आधिकारिक खातामा नआएको अभिलेखमा देखिएको दाबी गरिएको छ।

उक्त रकम समुदायको साझा सम्पत्ति भएकाले सम्बन्धित पक्षलाई संस्थाको खातामा जम्मा गर्न आग्रह गरिएको छ। साथै, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ।

एनआरएनए पोर्चुगलले अबदेखि संस्थाको नाम, लोगो र आधिकारिक पहिचान प्रयोग गर्दा केवल आधिकारिक संरचनामार्फत मात्र गर्न आग्रह गर्दै सबैलाई आधिकारिक जानकारीमा मात्र भर पर्न अनुरोध गरेको छ।

लामो समयदेखि चल्दै आएको नेतृत्व विवाद, समानान्तर समिति र आर्थिक पारदर्शिताका प्रश्नबीच आएको यो नयाँ विकासले एनआरएनए पोर्चुगलको भविष्यको संरचना र एकता प्रक्रियामा कस्तो प्रभाव पार्नेछ भन्ने विषय भने अझै अनिश्चित देखिएको छ।