दाङ। दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ ।
तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताउनुभयो ।
तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्सरे’बाट बिरामी खोजिएको उहाँको भनाइ छ । विभिन्न शिविरमा उक्त मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको छ । जसले चिकित्सकलाई क्षयरोग पहिचान गराउन सहज भएको छ ।
“पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो,” उहाँले भन्नुभयो–“अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ ।”
एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको सङ्क्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार एआई एक्सरेमा सङ्क्रमण देखिएमा त्यसको पुष्टीका लागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ । यो सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ ।
“हामीले पहिले एआइएक्सरे मेसिनबाट हेर्छौँ, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौँ”, शाखा प्रमुख न्यौपानेले भन्नुभयो, “यसरी हामीले सङ्क्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ ।
सङ्क्रमितलाई ‘डटस्’ अर्थात प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएको छ । यसरी छ महिनासम्म प्रत्येक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरिएको शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानअन्तर्गत यसरी क्षेयरोग सङ्क्रमितको पहिचान गरि उपचार गर्ने गरिएको छ । हाल उक्त कार्यक्रम दोस्रो वर्षमा सञ्चालित छ । आर्थिक वर्ष २०८१÷८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले ९७ प्रतिशत सङ्क्रमितलाई उपचार गरिसकेको प्रमुख न्यौपानेले बताउनुभयो । चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३५५ जना सङ्क्रमित पहिचान गरिएको छ । १५ वर्ष मुनीका ३४ जना र १५ वर्ष माथिका ३२१ जनामा क्षयरोग सङ्क्रमण भएको पुष्टि भएको छ ।
प्रत्येक एक लाखमा २२७ जनामा क्षयरोग सङ्क्रमण देखिएको उहाँको भनाइ छ । हाल तुलसीपुरमा १३ डट्स केन्द्र, चार स्थानमा टीवी माइक्रोस्कपी लागु गरिएको छ । रासस











