१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाई संरक्षणका लागि ‘गौमहोत्सव’ हुने



अ+ अ-

बेनी । स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो ।

वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार महायज्ञ एवं महोत्सवबाट सङ्कलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको वंश संरक्षण गरिनेछ । गौमहोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र पर्यावरणीय रूपमा समेत गाईको महत्व ठूलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणका लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवका रूपमा महायज्ञ सञ्चालन गर्नु परेको बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको सङ्कल्प र स्थानीयवासीको सक्रियतामा विसं २०७२ मा धाइरिङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरी लोप हुँदै गएका गाईको संरक्षणका लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उहाँले महायज्ञ एवं गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससँगै गौशालाको दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोषसमेत स्थापना गर्ने उद्देश्य राखिएको बताउनुभयो । महायज्ञमा करीब रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञको व्यवस्थापनसँगै छिमेकी जिल्ला, स्थानीय तहहरु र देशव्यापीरूपमा प्रचारप्रसारलाई तीव्रता दिइएको समितिका उपाध्यक्ष शिव जिसीले जानकारी दिनुभयो ।

महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्यसँगै पण्डित सुदर्शन बरालको कथा वाचन र प्रवचन रहनेछ । जलजला गाउँपालिका र कुस्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा रु पाँच हजार ५५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताव गरिएको छ भने महोत्सव अवधिभर एक हजारभन्दा बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष डण्डपाणि रिजालले जानकारी दिनुभयो । अहिलेसम्म ४०० जनाले आयोजक सदस्य बनेका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानाकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिका रूपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ ।