९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी अस्पतालमा ‘इपोफिट’ अभाव, बिरामीले दिए आन्दोलन गर्ने चेतावनी



अ+ अ-

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला बिरामीका लागि प्रयोग गरिने इपोफिट सुईको अभाव देखिएको छ । अभावसँगै डायलासिसका लागि भेरी अस्पतालमा आउने बिरामी उक्त सुई लगाउनबाट वञ्चित भएका छन् । अस्पतालकै फार्मेसीले उक्त सुई महँगो भन्दै नल्याउने र बजारमा रहेका अन्य मेडिकलमा नपाइने गरेपछि बिरामीले विगत एक महिनादेखि इपोफिट सुई लगाएका छैनन् ।

नेपालगञ्जको बजार मूल्यअनुसार रु एक हजार ४०० पर्ने इपोफिट बजारमा नपाइएपछि अहिले कतिपय बिरामीहरू रु दुई हजार १०० देखि रु दुई हजार ५०० सम्म रकम तिरेर महँगोमा अर्को सुई लगाउन बाध्य छन् । भारतको बहराइचमा सुई सहजै पाइने भए पनि महँगोमा उस्तै खाले अर्को सुई बिक्री गर्न पाइने भन्दै यहाँका मेडिकल सञ्चालकले इपोफिट सुई ल्याउन चासो नदेखाएको मिर्गौला पीडितहरुको गुनासो छ ।

“भेरी अस्पतालमा अहिले दैनिक चारजनाले डायलासिस गरारिरहेका छन् । डायलासिस गरेका शतप्रतिशतले हप्तामा एक वा महिनामा दुई पटक इपोफिट सुई लगाउनुपर्छ । तर अहिले एक महिनादेखि बजारमा सुई अभाव देखिएकाले कतिपयले महँगोमा अर्कै कम्पनीको सुई लगाइरहेका छन्”, मिर्गौलाका बिरामी इन्द्र श्रेष्ठले भन्नुभयो, “म जस्ता आर्थिक अभाव भएका दर्जन बिरामीले एक महिनादेखि इपोफिट सुई लगाउन सकेका छैनौँ ।” उक्त सुईको अभावसँगै बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । भेरीमा रहेका चार वटामध्ये दुईवटा मेशिन बिग्रेको करीब ६ महिना भइसक्दा पनि उक्त मेशिन बनाउनतर्फ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रूपानन्द अधिकारी मौन रहेको अस्पताल स्रोतकै भनाइ छ ।

उहाँले तिहारअघि नै मेशिन मर्मतका लागि प्राविधिक आउने बताए पनि हालसम्म पनि मर्मत हुन सकेको छैन । मेशिन बिग्रेको लामो समय हुँदा अस्पताल प्रशासन बेखबर रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । एक स्वास्थ्यकर्मीले भन्नुभयो, “बिरामीको चाप बढेको बढ्यै छ, मेशिन बिग्रेका छन् । चलिरहेका दुईमध्ये एउटाले कहिलेकाहीँ काम गर्न छाडेको छ । एउटा मेशिनको भरमा डायलासिस विभाग चलिरहेको छ । मेशिन मर्मत र सुधारका लागि अस्पताल प्रशासन र व्यवस्थापन मौन छ ।”

यस्तै बिरामीको चाप दैनिक बढेको र अस्पतालले बिग्रेका मेशिन मर्मत गर्नेतर्फ चासो नदिएको भन्दै मिर्गौला बिरामीले अस्पतालविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । साधन स्रोतको अभाव रहेको डायलासिस युनिटमा भएका मेशिनसमेत प्रयोगका लागि मर्मत नहुँदा दर्जनौ बिरामीले अस्पतालबाट सहज सेवा पाउन सकेका छैनन् । मिर्गौला बिरामीले डायलासिस युनिटमा भएका सबै मेशिन प्रयोगमा ल्याउनुपर्ने, बिग्रेका मेशिन तत्काल मर्मत गर्नुपर्ने, आवश्यकताअनुसारका चिकित्सक दरबन्दी र जनशक्तिका लागि अस्पताल व्यवस्थापन र प्रशासनले पहल गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यसअघि पनि अस्पतालका मेसु अधिकारीले तत्काल मेशिन बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । “मेसुले हालसम्म आफूले गरेको प्रतिबद्धता पूरा गर्नुभएको छैन । बिग्रेका मेशिन मर्मतका लागि कुनै चासो देखाउनुभएको छैन । बिग्रेका मेशिन मर्मत गरेर प्रयोगमा ल्याई बिरामीलाई सहज डायलासिस सेवा नदिए हामी आन्दोलनमा उत्रिन्छौँ”, मिर्गौला बिरामी अमित दर्जीले भन्नुभयो । अहिले पनि दुई दर्जनभन्दा बढी मिर्गौलाका बिरामी मेशिनको अभावमा पालो कुरेरै बसेको अर्का बिरामी राजु परियारले बताउनुभयो ।

डायलासिस युनिट इन्चार्ज डा. पारस श्रेष्ठका अनुसार अहिले पनि दैनिक नयाँ बिरामी डायलासिसका लागि सम्पर्कमा आउने गरेका छन् । तर बिग्रेका मेशिन समयमै मर्मत हुन नसक्दा यस्ता बिरामीलाई फिर्ता गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । अस्पतालका मेसु अधिकारीले बिग्रेका मेशिन मर्मतका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभयो । उहाँले छलफल भइरहेको भन्दै पन्छिन थालेको करीब पाँच महिना बितिसकेको अस्पतालका कर्मचारीहरुको गुनासो छ ।