३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

जनतासँग माफी माग्दै प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ: एमाले

जनतासँग माफी माग्दै प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ: एमाले
फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले हिजो सङ्घीय संसद्मा व्यक्त गर्नुभएको धारणा खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य भएको जनाएको छ ।

महासचिव शंकर पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दे प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आमनेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्नुभएको छ ।

बिज्ञप्तिको पूर्णपाठ

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले हिजो सङ्घीय संसद्मा व्यक्त गर्नुभएको धारणाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रको कार्यकारी प्रमुखको जिम्मेवार पदमा आसिन व्यक्तिबाट ऐतिहासिक यथार्थ, तथ्य र अकाट्य प्रमाणविपरीत अभिव्यक्ति आउनु अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य हो ।

नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनतासम्वन्धी विषय कुनै दल, सरकार वा व्यक्तिको मात्र सरोकारको विषय होइन; यो सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो । यस्तो संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिनुभएको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्धिपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दावी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ । यस प्रकारको राष्ट्रहीत प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।

स्मरणीय छ, हाम्रो पार्टीका अध्यक्षको नेतृत्वको सरकारले २०७७ साल जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरी राष्ट्रिय इतिहासमा एक महत्वपूर्ण र ऐतिहासिक अध्याय थपेको थियो । उक्त नक्सा कुनै भावनात्मक वा हठात् निर्णयका आधारमा नभइ ऐतिहासिक तथ्य, अकाट्य प्रमाण, नापनक्सा, सन्धि–सम्झौता, जलविज्ञान तथा उपलब्ध आधिकारिक दस्तावेजहरूको गहन अध्ययनपछि जारी गरिएको थियो । त्यसलाई २०७७ साल जेठ ३१ गते सङ्घीय संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी नेपालको संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको छ । सिंगो राष्ट्र एकजुट भई संविधानकै अंग बनाइसकेको भूमिमाथि देशकै प्रधानमन्त्रीले प्रश्न उठाउनु अक्षम्य कूटनीतिक त्रुटि हो ।

इतिहास साक्षी छ कि सन् १८१६ मार्च ४ मा सम्पन्न सुगौली सन्धिले नेपालको हालको सीमा भारतसँगको सीमा निर्धारण गरेको कुरामा कुनै विमति छैन । नेपालको भारतसँगको सीमामा जङ्गे पिलर स्थापना गरी समय–समयमा संयुक्तरुपमा निरीक्षण, अध्यमन र तलमाथि भएको अवस्थामा पुन:स्थापना गरिने काम पनि हुँदै आएको छ । तर सुगौली सन्धिको धारा ५ मा नेपालले काली नदीको पश्चिमतर्फका भूभागमाथिको दावी परित्याग गर्ने उल्लेख हुनुको स्पष्ट अर्थ काली नदीको पूर्वतर्फका सम्पूर्ण भूभाग नेपालकै सार्वभौम भूभाग हुन् भन्ने हो । ऐतिहासिक नक्सा, दस्तावेज, जलविज्ञान तथा भूगोलसम्बन्धी प्रमाणहरूले काली नदीको वास्तविक मुहान लिम्पियाधुरा नै भएको पुष्टि गर्दछन् ।

तर, सन् १८५६ पछिका केही नक्साहरूमा लिम्पियाधुराबाट निस्कने वास्तविक काली नदीको नाम बदनियतपूर्ण ढङ्गले परिवर्तन गरेर ‘कुटीयंक्ति’ राखिएको र लिपु भन्ज्याङको पश्चिम गरिफू (एर्खा) बाट आउने ‘खा यंक्ति’ (लिपुखोला) लाई कृत्रिम काली नदी नाम दिई इतिहास र भूगोललाई विकृत बनाउने प्रयास भएको देखिन्छ । भारत स्वतन्त्र हुनुअघि तथा स्वतन्त्रतापछि पनि सन् १९६० को दशकसम्म कालापानी क्षेत्रमा नेपालकै प्रशासनिक, भोगचलन र भौगोलिक स्वामित्व रहेको तथ्य विभिन्न सरकारी अभिलेख र जनगणनाले पुष्टि गर्छन् । सन् १९६१/६२ को भारत–चीन युद्धपछि मात्रै भारतीय सुरक्षा फौज कालापानी क्षेत्रमा बस्न थालेको र त्यसयता क्रमश: लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा अतिक्रमण विस्तार गरिएको हो । त्यसैले, यो समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णत: असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो ।

नेपाल–भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासहित विभिन्न ७१ स्थानमा सीमा समस्या रहेको तथ्य सरकारी अभिलेखमै प्रस्ट छ । यस्ता विवादहरूको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनुपर्नेमा, आफ्नो कमजोरी लुकाउन “नेपालले पनि सीमा मिचेको छ“ भन्नु राष्ट्रिय हितमाथिको ठूलो कुठाराघात हो । खेती कमाइ वा नदीले धार परिवर्तन गर्दा हुने प्राविधिक ’क्रस होल्डिङ’लाई राज्यस्तरबाट भएको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नै मिल्दैन ।

त्यस्तै, नेपाल, भारत र चीनबीचको पश्चिमी त्रिदेशीय बिन्दू हालसम्म औपचारिक रूपमा टुंगो लाग्न बाँकी छ । उपलब्ध ऐतिहासिक तथ्यहरूका आधारमा पश्चिमी त्रिदेशीय बिन्दू लिम्पियाधुराभन्दा ४ किलोमिटर पश्चिमतर्फ रहेको र पूर्वी क्षेत्रमा समेत ताप्लेजुङको झिन्साङचुली आसपासको त्रिदेशीय बिन्दू सम्बन्धमा स्पष्ट कूटनीतिक सहमति आवश्यक रहेको तथ्य स्पष्ट छ । यस्ता जटिल प्राविधिक र राजनीतिक विषयहरूलाई देशको कार्यकारी प्रमुखले संसद् जस्तो गरिमामय ठाउँमा हलुका ढंगले बङ्ग्याउनु आपत्तिजनक छ ।

अत: नेकपा (एमाले) प्रधानमन्त्री वालेन्द्र शाहको उक्त गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारलाई स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुन जोडदार माग गर्दछ । नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देश अडिग छ । प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आमनेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।

शंकर पोखरेल
महासचिव