२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’



अ+ अ-

कर्णाली। कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ ।

ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो ।

जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ । सम्मेलन मुलतः कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेका बालविवाह, लैङ्गिक विभेद, कुप्रथालगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ ।

त्यसैगरी, महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय कानुनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ ।

छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र ७९ वटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन, सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरुपयोगबाट हुने हिंसा र दुव्र्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।

विद्यालय एवं समुदायस्तरमा किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, आवश्यक सूचना केन्द्र तथा सेवा र जीवनोपयोगी सीप एवं रुपान्तरणकारी शिक्षा प्रवर्द्धन, २०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणका लागि तत्काल पहल गर्न र पठनपाठनको प्रभावकारी प्रबन्ध गर्न माग गरिएको छ ।

त्यसैगरी, छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवं समुदायस्तरमा प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गर्न माग गर्दै घोषणपत्रले २०८२ साल वैशाख २७, २८ र २९ गते सम्पन्न कर्णाली छोरी सम्मेलन (पहिलो संस्करण)बाट जारी गरिएको घोषणापत्रका बुँदाहरू कार्यान्वयन गर्न सरोकारवालाको पुनः ध्यानाकर्षण गराएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य एवं समन्वयमा ज्योति फाउन्डेसनले दुई दिनसम्म सञ्चालन गरेको सम्मेलनमा कक्षा ११ र १२ अध्ययनरत कर्णालीका ७९ स्थानीय तहबाट दुई–दुई जना छोरी, राउटे, राजी, कुसुण्डा, बादी, बोटे, समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक, अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरीसहित करिब २५० भन्दा बढी छोरीहरूको सहभागिता थियो ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही, नेकपा (एमाले) दलका सदस्य जीतबहादुर मल्ल, मन्त्रीलगायत प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव तथा प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी सहभागी उक्त सम्मेलन अवधिभर ८५ छोरीहरूले आफ्नो जीवन सङ्घर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो । रासस