१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोषण पुनःस्थापना गृह सञ्चालनमा कठिनाई



अ+ अ-

भरतपुर । भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाई भएको छ । साउन यता त्यहाँ कार्यरत– ९ जना कर्मचारीले तलब पाउन सकेका छैनन् भने उनीहरुले नै खर्च गरेर बिरामीको हेरचाहा गर्दै आएका छन् ।

गृहकी संयोजक छमकला काफ्लेका अनुसार गृहमा संयोजक बाहेक चार जना स्टाफ नर्स र चारजना सरसफाइ एवं भान्छाका कर्मचारी रहेका छन् । गृह सञ्चालन गर्न कर्मचारीको बाहेक बिरामीको सङ्ख्याको आधारमा हरेक महिना रु ४० हजारदेखि ६० हजारसम्म खर्च हुने गर्दछ ।
कुपोषण भएका पाँच वर्ष भन्दा तलका बालबालीका उपचारका लागि गृहमा ल्याउने गरिन्छ । कुपोषणकै कारण कम तौल भएका ती बालबालीकालाई पौष्टिक आहारा खुवाउने र उनीहरुका आमालाई घरमानै पाउने खाद्यान्नबाट कसरी पोषणयुक्त खाना बनाउन सकिन्छ भनेर तालीम दिइने काफ्लेले बताउनुभयो ।

बजेट अभाव भएपछि साउनयता आफुहरुकै निजी खर्च र उधारोमा सामान ल्याएर बिरामी राख्दै आएको काफ्लेको भनाइ छ । गत वर्ष १५३ जना बालबालिका भर्ना भएको केन्द्रमा यसवर्ष हरेक महिना १० जना नयाँ भर्ना गर्ने लक्ष्य लिइएको थियो । यसवर्ष बजेट नभएपछि लक्ष्य अनुसार भर्ना गर्न नसकिएको उहाँले बताउनुभयो । हाल केन्द्रमा तीनजना मात्र बालबालिका रहेका छन् । १० श्ययाको क्षमता भएको भए पनि १५ जना सम्मलाई उपचार गरिँदै आएको थियो ।

अस्पतालका लेखा प्रमुख भृगु खनालका अनुसार कार्यक्रम सुनिश्चितताको पत्र प्राप्त भएमा अस्पतालको अन्य बजेटबाट व्यवस्थापन गर्न सकिने भए पनि पत्रसमेत प्राप्त नहुँदा समस्या भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बजेट छुट भएको जानकारी भएलगत्तै स्वास्थ्य मन्त्रालयको सम्बन्धित शाखामा पुगेर जानकारी गराएको तर हालसम्म निकासा हुन नसकेको बताउनुभयो ।

अस्पतालका तर्फबाट आवश्यक पहल भइरहेको उहाँले जानकारी दिनुभयो । सन् २०१२ अप्रिल २२ तारिखमा भरतपुर अस्पताल, नेपाल युथ फाउण्डेशन र दियालो परिवार नारायणगढले संयुक्त रुपमा गृह संञ्चालन गरेको थियो । त्यसको पाँच वर्षपछि गैरसरकारी संस्थाले गृहको सञ्चलनको जिम्मेवारी अस्पताललाई दिएका थिए ।

गृहमा आउने बालबालिकामा ८० देखि ८५ प्रतिशत उपचार सफल हुने गरेको जनाइएको छ ।