२१ भाद्र २०८३, आईतवार
,
Latest
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने चर्चा छः महामन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानमार्फत प्राप्त उपलब्धिहरूको रक्षा र संस्थागत विकासका लागि पार्टीलाई थप सुदृढ र संगठित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मुलुक पुनः एकात्मक राज्य प्रणालीतर्फ फर्कने र संसदीय व्यवस्थालाई कमजोर बनाउने खेल भइरहेको भन्दै उहाँले संविधानको कार्यान्वयनमा सबैको ऐक्यवद्धता आवश्यक रहेको बताउनु भयो ।

महामन्त्री पौडेलले वर्तमान संविधानका उपलब्धिहरू समाप्त भएमा मुलुक फेरि पछाडि फर्कने खतरा औँल्याउनु भयो । विगतमा आफ्नै नेतृत्वले पनि संविधानको मर्म र आशय बमोजिम पूर्ण रूपमा काम गर्न नसकेको स्वीकार गर्दै उहाँले अहिले भने संविधान नै समाप्त पार्ने गरी गतिविधिहरू भइरहेको दाबी गर्नुभयो ।

समावेशिता, लोकतन्त्र र सबै समुदायको अस्तित्वलाई स्विकार्ने राजनीतिक शक्तिका रूपमा नेपाली काँग्रेसलाई थप मजबुत बनाउनुपर्ने उहाँको तर्क छ । काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउन र मौलिकताको जगेर्ना गर्न काँग्रेस नै शक्तिशाली हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा प्राप्त भएका उपलब्धिहरूलाई संस्थागत गरेर सुरक्षित गरेर जानुपर्ने स्थिति छ । मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने गरी चर्चा परिचर्चाहरु भइरहेका छन् । संसदीय व्यवस्थालाई कमजोर बनाउने गरी कामहरु भइरहेका छन् ।

त्यसैले यही संविधानमा प्राप्त भएका उपलब्धिहरुलाई कार्यान्वयनमा लिएर जाने कुरा आजको दिनमा हामी सबैले मिलेर गर्ने विषय हो भन्ने मलाई लाग्छ ।

यी उपलब्धिहरु पनि समाप्त भए भने फेरि राज्य एकात्मक प्रणालीतिर फर्कन सक्छ । प्राप्त उपलब्धिहरु सम्पूर्ण रूपमा समाप्त हुन सक्छ । हिजो हामीले नेतृत्व गर्दा हाम्रै नेतृत्वले पनि संविधानको आसय बमोजिम काम गर्न सकेन । आज त संविधानको आसय बमोजिम होइन संविधान नै समाप्त हुने गरी काम भइरहेको छ ।

त्यसकारण संगठित हुन आवश्यक छ । नेपाली काँग्रेस जसले यो संविधान ल्यायो जसको नेतृत्वमा यो संविधान आयो जसले नेपालमा समावेशिताको कुरालाई सम्पूर्ण रूपमा स्वीकार्छ अंगीकार गर्न चाहन्छ कार्यान्वयन गर्न चाहन्छ र नेपालको लोकतन्त्र बलियो बनाउन चाहन्छ त्यो शक्तिलाई मजबुत बनाउन आवश्यक छ । त्यो शक्तिलाई सशक्त बनाउन आवश्यक छ ।

त्यसका निम्ति लोकतन्त्रभित्र बाँच्न चाहने हो सबै समुदायको अस्तित्व स्वीकार गर्ने सबैको संस्कृति मौलिकता आत्मसात गर्न सक्ने राजनीतिक शक्ति बलियो हुन आवश्यक छ । त्यो भनेको नेपाली कांग्रेस नै हो। त्यसैले नेपाली कांग्रेसलाई अझ बढी संगठित गर्नका निम्ति सबै समुदायलाई हामीले जोड्न आवश्यक छ ।’

पार्टीलाई अझ बढी संगठित र प्रभावकारी बनाउनका लागि सबै समुदायलाई जोडेर अघि बढ्नुपर्नेमा महामन्त्री पौडेलले जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल