काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
शुक्रवार शितलनिवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कृषक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाइन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
मन्त्री चौधरीले सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिंचाई, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको समेत बताउनु भयो । यद्यपि कृषकहरूले अझै पनि विभिन्न चुनौती झेल्नुपरेको विषयमा मन्त्रालय गम्भीर र सचेत रहेको उहाँले बताउनु भयो ।
उहाँले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा मात्र नभई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । स्वदेशी उत्पादन र दिगो कृषिलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री चौधरीले नेपालको कृषि प्रवद्र्धनका लागि सरकारसँगै निजी क्षेत्र र सरोकारवाला निकायहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
मन्त्री चौधरीले भन्नुभयो– ‘ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई उच्च प्राथमिकतामा राखेको छु । कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु । सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिँचाई, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण, बाली तथा पशुधन बीमा लगायतका सहुलियत प्रदान लगायतमा सहुलियत प्रदान गर्दै आइराखेको छ तथापि कृषकहरूले यी विषयमा निकै चुनौती झेल्नुपरेको तर्फ मन्त्रालय सचेत छ । कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा मात्र नभई कृषिलाई सम्मानित पेसा, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकारले कुनै कसर छोड्ने छैन ।’
उहाँकाअनुसार कृषिमा लगानी वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, प्रभावकारी बजारीकरण तथा युवाको सहभागिता अभिवृद्धितर्फ सबै पक्षको साझा प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।











