१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा उपनिर्वाचनको तयारी



अ+ अ-

महोेत्तरी । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र अन्य दुई नगरपालिकाका तीन वडामा हुने उपनिर्वाचनमा ती मतदाताले भाग लिनसक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो । जिल्लामा पिपराबाहेक बलवा नगरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ मा वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ ।

जसमा पिपरा गाउँपालिकाका लागि १८ हजार ५०४, बलवा–२ मा एक हजार ५५४, बलवा–८ मा एक हजार ५८३ र मटिहानी–८ मा एक हजार ६९ मतदाता रहेको कार्यालयले जनाएको हो । पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाध्यक्ष सञ्जयकुमार मण्डलले राजीनामा दिएपछि रिक्त भएका यी चार पदका लागि उपनिर्वाचन हुनलागेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिए ।

उपनिर्वाचन प्रयोजनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत महोत्तरीका न्यायाधीश विष्णु सुवेदी तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पिपरामा स्थापना गरिएको छ । त्यसैगरी बलवाका दुई वडा र मटिहानीको एक वडाको उपनिर्वाचन प्रयोजनका लागि पनि निर्वाचन अधिकृत तोकिसकिएको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा पिपरा गाउँपालिकामा १५ मतदानस्थलमा २४ मतदान केन्द्र, बलवामा दुई वडामा एक÷एक मतदानस्थलमा दुई–दुई मतदान केन्द्र एवं मटिहानीको एउटा वडाको उपनिर्वाचनका लागि पनि एक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी झाले बताए ।

चारवटै पदका लागि हुने उपनिर्वाचनमा यही कात्तिक २७ गते उम्मेदवारले मनोनयनपत्र दाखिला गर्ने समय तोकिएको छ । चुनावका लागि मनोनयनपत्र दाखिला गर्ने समय नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छान्ने अन्तिम कसरतको अभ्यासमा व्यस्त देखिएका छन् ।