८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपिटक वाचनमा २५ देश सहभागी हुने



अ+ अ-

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो ।

कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिनुभयो ।

आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थविरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटकअन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गर्नुहुनेछ । दोस्रो दिन म्यान्माका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्नुहुने छ भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्नुहुने कार्यक्रम तय भएको छ ।

“गत वर्षको कार्यक्रमले राम्रो सन्देश दिएर उत्साह थपेको छ, यो वर्ष पनि बौद्ध शिक्षा र त्रिपिटकको महत्वबारे सबैलाई सचेत गराउन कार्यक्रम महत्वपूर्ण हुनेछ”, रासससँगको कुराकानीमा भिक्षुमैत्रीले भन्नुभयो । त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्ने उहाँको विश्वास छ ।

त्रिपिटक वाचनअघि लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा शान्ति पदयात्रा गर्ने कार्यक्रम छ । पहिलो दिन कत्तिक २५ गते लुम्बिनीदेखि रामग्रामसम्म शान्ति पदयात्राको कार्यक्रम छ । दोस्रो दिन २६ गते लुम्बिनीदेखि तौलीहवासम्म पदयात्रा कार्यक्रम गरी साँझ लुम्बिनी फर्केर मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइनेछ । तेस्रो दिन अन्य बुद्ध सर्किट क्षेत्रमा पदयात्राको कार्यक्रम राखिएको भिक्षुमैत्रीले बताउनुभयो ।

पदयात्रामा भिक्षु, गुरुआमा, बौद्ध उपासक उपासिकालगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहनेछ । कार्यक्रम सम्पन्न गर्न रु एक करोड बराबरको खर्च लाग्ने अनुमान गरिएको छ ।

त्रिपिटक वाचन सम्पन्न गर्न यसअघि भिक्षुमैत्रीको संयोजकत्वमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन समिति गठन गरिएको थियो । भिक्षुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद भएको छ ।

यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गर्नुभएको थियो । गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो ।

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् । सुत्तपिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटकअन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन् ।