२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर



रूबी कुमारी ठाकुर
अ+ अ-

सर्लाही। उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताउनुभएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले यहाँ आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताउनुभयो ।

छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उहाँले मधेसले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गर्नुभयो । “छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो”, उपसभामुख ठाकुरले भन्नुभयो ।

बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याउने उहाँको भनाइ थियो। पछिल्लो समय किशोरकिशोरीले घर छाडेर हिँड्ने गरेको कुरातर्फ सङ्केत गर्दै उहाँले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न सुझाव दिनुभयो ।

सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले दाइजो र बालविवाह प्रथा लामो समयदेखि मधेसमा नबदलिएको बताउनुभयो । उहाँले समाजमा व्याप्त यस्ता कुरीति र कुसंस्कार शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने भन्दै उहाँले छोरीहरूलाई पढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशअन्तर्गत विभिन्न पालिकाका उपाध्यक्ष र उपप्रमुखहरूको सहभागिता रहेको थियो । सो अवसरमा छोरीलाई १२ कक्षा पढाएर २० वर्ष पारी विवाह गर्ने अभिभावक, बुहारीलाई स्नातक पढाउने अभिभावक र बिना दाइजो विवाह गर्ने जोडीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि २० वर्ष पार गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद रु ५० हजारसहित सम्मान र कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई पठनपाठमा प्रोत्साहन गर्ने उद्देश्यसहित एकमुष्ट नगद रु ११ हजार दिँदै आएको छ । रासस