७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निदान अस्पतालका सिइओसहित पाँच जनालाई थुनामा



अ+ अ-

काठमाडौं । निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई अदालतले थुनामा पठाएको छ । मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न रहेको अभियोगमा जिल्ला अदालत ललितपुरले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको हो।

अदालतले काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा ३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका ९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो। भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्।

उनीहरूको मिलेमतोमा एक बिरामीको मिर्गौला शंकरलाल लामालाई विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ।
आलेले नक्कली आफन्त खडा गरेर कागजात तयार पारेको भन्दै उनीहरूलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो। त्यसपछि पाँचै जनालाई पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान गरी मुद्दा अदालतमा लगेको थियो।