काठमाडौं । सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एशोसिएशनले आन्दोलन घोषणा गरेको छ । बारले ५ बुँदे विमति राख्दै आन्दोलनका कार्यक्रम तय गरेको छ ।
दरपीठमाथिको निवेदन सर्वोच्च अदालत प्रशासनले विना कारण दर्ता नगर्नुलाई गम्भीर रुपमा लिदै बारले आज दिउँसो सवा एक बजे लालटिन बालेर बिरोध गर्ने निर्णय गरेको छ ।
बारको सोमबार साँझ बसेको बैठकले विभिन्न दरपीठमाथिको निवेदन सर्वोच्च अदालत प्रशासनले विना कारण दर्ता नगर्नुलाई गम्भीर रुपमा लिएको जनाएको छ । बारले भनेको छ ‘कामु प्रधानन्यायाधीशको आदेश पालना नहुनु प्रशासनको रवैया असाधारण मात्रै नभएर ऐतिहासिक भूल हो ।’
बारले सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु प्रशासनको अधिकार बाहिरको र न्यायमार्गमा अवरोध पुर्याउने कार्य भएको ठहर पनि गरेको छ ।
बारले विगत केही समयदेखि संवैधानिक महत्त्वका विभिन्न विषयमा सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदनहरु सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएको र त्यसउपर परेको निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध गरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी सम्माननीय कामु प्रधान न्यायाधीशबाट दरपीठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिनुभएको र सर्वोच्च अदालत प्रशासनले सोको समेत अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ ।
फोटो- एआई











