७ आश्विन २०८१, सोमबार
,
Latest
परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमाफियाको कब्जा: ६२ व्यक्तिका नाममा यसरी दर्ता भयो अर्बौंको सरकारी जग्गा, अख्तियारले कहिले गर्ला कारबाही ?



अ+ अ-

काठमाडौं । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं रुपैयाँ बराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रूपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ । माफियाहरूले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा माफियाले वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावितराम कुर्मी तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृतहरू मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्वा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धुव्रप्रसाद भण्डारीको मिलिमतोमा यो काम भएको हो । विभिन्न समयका मालपोतका प्रमुख, अधिकृत तथा कर्मचारीले भूमाफियासँगको मिलेमतोमा योजनाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गराएका हुन् । भूमाफियासँग साँठगाँठ राख्ने ती कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ ।

भूमाफियाहरूले जग्गा हत्याउन २०४० सालबाट योजनाबद्ध प्रयास सुरु गरी २९ मंसिर २०५५ सम्म आइपुग्दा १ सय ४३ बिघा ९ कट्ठा सरकारी जग्गा पूर्ण रूपमा व्यक्तिको नाममा बनाउन सफल भएका थिए । सो जग्गा हालसम्म आइपुग्दा विभिन्न ६२ जनाको नाममा नामसारी भइसकेको पाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । १ सय ४३ बिघा जमिन भूमाफियाको कब्जामा गएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियासमेतले विस्तृत अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा जिल्ला प्रशासन र प्रहरीले समेत मालपोत कार्यालयका कर्मचारी र माफियाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा गएको ठहर गर्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने तयारी गरेको बताइएको छ ।

६२ व्यक्तिका नाममा यसरी दर्ता भयो अर्बौंको सरकारी जग्गा: मालपोत कार्यालयको रेकर्डअनुसार २०४० सालसम्म साविक बर्दिया जिल्ला सोरहा ८ ‘क’अन्तर्गत कित्ता नम्बर ४४२ मा १ सय ४३ बिघा ९ कट्ठा क्षेत्रफलमा सरकारी पर्ती जग्गा थियो । भूमाफियाहरू गयाप्रसाद कुर्मी, उनका छोरा सावितराम कुर्मी र मालपोत कर्मचारीको मिलेमतोमा सो जग्गा ३१ जेठ २०४० मा मालपोत कार्यालय बर्दियाको आदेशबाट कित्ता बदर गरी कित्ता नम्बर ६४० र ६४१ कायम भयो । कित्ता नम्बर ६४० अन्तर्गत ८४ बिघा १६ कट्ठा १२ धुर र कित्ता नम्बर ६४१ अन्तर्गत ५८ बिघा ११ कट्ठा ८ धुर पर्ती जग्गा कायम हुन पुग्यो ।

त्यसपछि भूमाफियाको योजनाअनुसार कित्ताकाट पछि मालपोतद्वारा माफियाकै आदेशअनुसार पर्ती जग्गाका रूपमा रहेको कित्ता नम्बर ६४१ लाई १३ असार २०५३ मा बदर गरी १०२४, १०२५ र १०२६ कित्ता कायम गरियो । त्यसपश्चात् १०२४ कित्ताको ३६ बिघा ६ कट्ठा १२ धुर जग्गा सावितराम कुर्मीका नाममा कायम गरियो । तत्पश्चात् कित्ता नम्बर १०२५ र १०२६ को जग्गा भने पर्ती नै रहन गएको भए पनि विभिन्न व्यक्तिका नाममा दर्ता भएको र बचेकामध्ये केही अन्य व्यक्तिले उपयोग गरिरहेका छन् ।

जब कि १३ पुस २०६४ मा नापी शाखाको फिल्डबुकमा कित्ता नम्बर ४४२ पर्ती जग्गा ऐलानी भनी निमित्त नापी अधिकृतले हस्ताक्षर गरेको समेत पाइएको छ । पर्ती जग्गा हत्याउने योजनाअनुसार २९ मंसिर २०५५ मा मालपोतले जमुनीका रूपमा रहेको कित्ता ६४० लाई समेत बदर गरी १०६४ देखि १०८० कायम गर्यो । त्यसपछि सो जग्गा समेत क्रमशः विभिन्न व्यक्तिका नाममा कायम हुन पुगेको देखिन्छ ।

१४ कात्तिक २०५९ को पत्रले निमित्त नापी अधिकृतको हस्ताक्षर रहेको पत्रमा साविकको कित्ता नम्बर ३१७, ३१८ र हालको कित्ता नम्बर ४३५ र ४४२ भएको भनी २००४ को नक्सासँग भिडाएको र सो जग्गा सरकारी भएको स्पष्ट देखिन्छ । तत्पश्चात् ६ पुस २०६४ मा मालपोत कार्यालयका सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीले स्थलगत सर्जमिन गरी सो जग्गा गयाप्रसाद कुर्मीका हकदारकै नाममा रहेको र अन्य कसैले दाबी नगरेको भन्दै सर्जमिन गरी मुचुल्का उठाएर कुर्मीलाई जग्गा हत्याउने योजनामा साथ दिएका थिए ।

त्यस्तै, २२ कात्तिक २०६४ मा मालपोत कार्यालयले नै योजनाबद्ध रूपमा दैनिक पत्रिकामा सूचना जारी गर्दा कित्ता ६४१ को १०२४ मा समेत कसैले दाबी नगरेको भन्दै सूचना टाँस गरेको थियो । सोही योजनाअनुसार २० पुस २०६४ मा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख शंकरप्रसाद भेटुवालको टिप्पणी आदेशले सो जग्गा सवितराम कुर्मीलगायत चार जनाको नाममा दर्ता गराइयो । यसरी कित्ताकाट हुँदै गएको सरकारी जग्गा हाल ६२ जनाको नाममा दर्ता हुन पुगेको छ ।नापी कार्यालयको रेकर्डअनुसार २०६४ सालको आगलागीबाट स्रेस्ता नष्ट भएको भन्दै नयाँ कित्ता नम्बर १८ कायम गरी विभिन्न नयाँ कित्ताकाट भएको देखिन्छ ।

अख्तियारले कहिले कारबाही गर्ला ? २०४० सालदेखि २०६४ सालसम्मका बर्दियाका मालपोत अधिकृत तथा कर्मचारीहरू जग्गा हिनामिना प्रकरणमा जोडिएको पाइएको छ । अख्तियारले ती कर्मचारीमाथि छानबिन गरी कारबाही गर्न सक्ला भन्ने प्रश्न सिर्जना भएको छ । यस प्रकरणमा प्रमुख दोषीका रूपमा बाँके साविक इन्द्रपुर गाविस–८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा ८ का सावितराम कुर्मी तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृतहरू मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्वा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारी छन् ।

विभिन्न समयका मालपोतका प्रमुख, अधिकृत तथा कर्मचारीहरूले भूमाफियासँगको मिलेमतोमा योजनाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गराएका हुन् । भूमाफियासँग साँठगाँठ राख्ने ती कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ ।

छानबिनमा ठूला जग्गा प्रकरण: देशभर सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणको विषय बाहिरिएसँगै सरकारले ललिता निवास जग्गा प्रकरण, विभिन्न स्थानमा महन्थहरूले गरेको गुठी जग्गा अतिक्रमणका सम्बन्धमा छानबिन गरिरहेको छ । ठूला जग्गा अतिक्रमणका खुलासा भएसँगै देशभर विभिन्न स्थानका जग्गा हिनामिनाका घटना सार्वजनिक भइरहेका छन् । सरकारले समेत यस्ता जग्गाका सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय भूमि आयोग गठन गरी अनुसन्धान गरिरहेको छ । राजधानी दैनिकबाट




भर्खरै