२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताउनुभएको छ ।

महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आज राजधानीमा आयोजित समारोहमा उहाँले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने जिकिर गर्नुभयो ।

प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उहाँले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताउनुभयो ।

स्थानीय तह तथा समाजका सबै वर्गसँग सहकार्य गर्दै अगाडि बढ्न र आपराधिक गतिविधि नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो । समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजकातर्फबाट प्रा डा वासुदेव त्रिपाठीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।