२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबमा बेलायती प्रधानमन्त्री स्टार्मर



अ+ अ-

लन्डन। स्थानीय चुनावमा लेबर पार्टीले भोगेको ठूलो धक्कापछि बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि पार्टीभित्रै दबाब बढिरहेका बेला उहाँले आफूलाई गलत साबित गर्न खोज्नेहरूलाई जवाफ दिने र बेलायतलाई फेरि युरोपसँग नजिक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

घट्दो लोकप्रियता, आन्तरिक असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नबीच स्टार्मरले आफ्नो सरकार देशमा ‘आशा पुनःस्थापना’ गर्ने दिशामा केन्द्रित रहने बताउनुभयो ।

लन्डनमा सोमबार आयोजित एक भाषणमा स्टार्मरले आफ्नै पार्टीभित्र र मतदातामाझ आफूलाई लिएर शङ्का गर्नेहरू रहेको स्वीकार गर्दै ती सबैलाई गलत सावित गर्ने दाबी गर्नुभयो । उहाँले देश लामो समयदेखि यथास्थितिबाट थाकिसकेको उल्लेख गर्दै सरकार जनताको पक्षमा उभिएको अनुभूति दिलाउन चाहेको बताउनुभयो ।

स्टार्मरले बेलायत अहिले ‘राष्ट्रको आत्माका लागि लडाइँ’ को अवस्थामा रहेको धारणा राख्दै आप्रवासनविरोधी दल रिफर्म युके सत्तामा पुगे देश ‘अँध्यारो दिशातर्फ’ जान सक्ने चेतावनी दिनुभयो । नाइजेल फराज नेतृत्वको उक्त दलले हालैका स्थानीय चुनावमा उल्लेखनीय सफलता पाएपछि बेलायती राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिन थालेको छ ।

प्रधानमन्त्रीमाथिको दबाब यतिमै सीमित छैन । पार्टीभित्रका दर्जनौँ सांसदहरूले उहाँलाई पदत्यागको समयसीमा सार्वजनिक गर्न आग्रह गरिरहेका छन् । पूर्वउपप्रधानमन्त्री एन्जेला रेनरले सरकारले अपनाइरहेको कार्यशैली प्रभावकारी हुन नसकेको स्पष्ट टिप्पणी गर्दै परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले स्टार्मरलाई प्रत्यक्ष रूपमा पद छोड्न नभने पनि सरकार ‘क्रोनिज्मको विषाक्त संस्कृतितर्फ’ गएको आरोप लगाउनुभयो । साथै लेबरले आफ्नो श्रमजीवी वर्ग र सामाजिक लोकतान्त्रिक मूल्यमान्यतामा फर्किनुपर्ने र सर्वसाधारणको जीवनयापनको खर्च घटाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

रेनरले आइतबार सार्वजनिक गरेको वक्तव्यमा अहिलेको अवस्था लेबरका लागि ‘अन्तिम अवसर’ हुन सक्ने चेतावनीसमेत दिनुभएको थियो ।

गत साता इङ्ग्ल्यान्डका स्थानीय तह चुनाव तथा स्कटल्यान्ड र वेल्सका विधायिकी निर्वाचनमा लेबरले ठूलो क्षति बेहोरेपछि पार्टीभित्र निराशा बढेको हो । ती चुनावलाई स्टार्मर नेतृत्वमाथिको अनौपचारिक जनमतसङ्ग्रहका रूपमा पनि हेरिएको छ । दुई वर्षअघि भारी बहुमतसहित सत्तामा आएको लेबर अहिले आर्थिक चुनौती, महँगी, बिग्रँदो सार्वजनिक सेवा र विवादास्पद नीतिगत निर्णयका कारण दबाबमा परेको छ ।

स्टार्मर सरकारले आर्थिक वृद्धिको प्रतिबद्धता पूरा गर्न सङ्घर्ष गरिरहेको आलोचना भइरहेको छ । सार्वजनिक सेवा सुधार, जीवनयापनको खर्च नियन्त्रण तथा कल्याणकारी सुधारसम्बन्धी नीतिमा पटक–पटक यू–टर्न लिनुपरेपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ । त्यसमाथि जेफ्री एपस्टिन प्रकरणसँग जोडिएका पिटर म्यान्डल्सनलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने निर्णयले पनि सरकार थप विवादमा तानिएको छ ।

हालैको चुनावी नतिजाले लेबर दायाँ र बायाँ दुवै दिशाबाट दबाबमा परेको देखाएको छ । रिफर्म युकेसँगै ‘इको–पपुलिस्ट’ भनिने ग्रीन पार्टीले पनि लेबरको मत आधार कमजोर बनाएको छ । यसले लामो समयदेखि लेबर र कन्जर्भेटिभ पार्टीले प्रभुत्व जमाउँदै आएको बेलायती राजनीतिमा बढ्दो विखण्डनलाई उजागर गरेको विश्लेषण गरिएको छ ।

यही पृष्ठभूमिमा स्टार्मरले सोमबारको भाषण र बुधबार राजा चार्ल्स तृतीयले संसद्मा प्रस्तुत गर्ने सरकारको नीति तथा विधायी कार्यक्रममार्फत राजनीतिक गति फर्काउने प्रयास गरिरहनुभएको छ । उहाँले ऊर्जा, अर्थतन्त्र र राष्ट्रिय सुरक्षामाथि बेलायतले पुनः नियन्त्रण स्थापित गर्ने तथा देशलाई अझ निष्पक्ष बनाउने लक्ष्य अघि सार्नुभएको छ ।

स्टार्मरको प्राथमिकतामध्ये एक युरोपेली सङ्घ (इयु) सँगको सम्बन्धलाई पुनः नजिक बनाउनु पनि हो । सन् २०२० मा बेलायतले औपचारिक रूपमा इयु छोडेपछि व्यापारिक अवरोध र आर्थिक जटिलता बढेको भन्दै उहाँको सरकारले केही प्रतिबन्ध खुकुलो पार्ने प्रक्रिया अघि बढाइसकेको छ । युवाहरूलाई युरोपमा केही वर्ष काम गर्न सक्ने व्यवस्था मिलाउन युवा गतिशीलता सम्झौता गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो सरकार ‘युरोपसँगको सम्बन्ध पुनर्निर्माण गर्ने सरकार’ का रूपमा चिनिने दाबी गर्नुभयो । यद्यपि स्टार्मरले बेलायतलाई फेरि इयुमा फर्काउने वा भन्सार सङ्घ तथा एकल बजारमा पुनः सामेल गराउने सम्भावनालाई भने अस्वीकार गर्नुभएको छ ।

सन् २०१६ को ब्रेक्सिट जनमतसङ्ग्रहका बेला लेबरले इयुमै रहने पक्षमा अभियान चलाएको थियो । तर त्यसले देशलाई गहिरो रूपमा विभाजित पारेपछि अहिले पार्टी पुरानो बहस पुनः चर्काउन इच्छुक देखिएको छैन ।

यद्यपि पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा क्रमशः बढिरहेको छ । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ, ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम तथा एन्जेला रेनरजस्ता प्रभावशाली नेताहरूलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिए पनि अहिलेसम्म कसैले खुला चुनौती दिएका छैनन् ।

पूर्व लेबर सांसद जोश साइमन्सले टाइम्स अफ लन्डनमा लेख्दै स्टार्मरले ‘देशको विश्वास गुमाइसकेको’ टिप्पणी गर्नुभएको छ । उहाँले व्यवस्थित रूपमा नयाँ नेतृत्वतर्फ सङ्क्रमण गराउने जिम्मेवारी लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

पूर्व कनिष्ठ मन्त्री क्याथरिन वेस्टले पनि यदि स्टार्मरले सोमबारको भाषणमार्फत स्पष्ट राजनीतिक दिशा दिन नसके नेतृत्व प्रतिस्पर्धा सुरु गर्ने प्रयास गर्ने चेतावनी दिनुभयो । यद्यपि उहाँसँग आवश्यक समर्थन सङ्ख्या नरहेको स्वीकार गरिएको छ । विश्लेषकहरूले भने वेस्टको कदमलाई अन्य प्रभावशाली नेताहरूलाई अगाडि आउन दबाब दिने रणनीतिका रूपमा व्याख्या गरेका छन् ।

वेस्टले सर्वसाधारणले चुनावमार्फत स्पष्ट सन्देश दिएको उल्लेख गर्दै लेबरले त्यो सन्देश सुन्नु पर्ने र शीघ्र परिवर्तन आवश्यक रहेको बताउनुभयो ।  (रासस/एपी)