२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मौलिक खानाको प्रबर्द्धन गर्न दमकमा राष्ट्रिय कुलिनरी च्यालेन्ज



अ+ अ-

काठमाडौं: नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ आयोजना हुने भएको छ।

आगामी जेठ १ र २ गते पाथीभरा कुलिनरी आर्ट कलेज, दमकमा सञ्चालन हुने उक्त कार्यक्रममार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ ।

उक्त कार्यक्रम बारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष अरुण अधिकारीले नेपालको मौलिक तथा रैथाने खानालाई विश्वस्तरमा चिनाउँदै नेपाली पाककलाको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

महासचिव गिरिराज भट्टका अनुसार, यो प्रतियोगिता केवल खाना बनाउने प्रतिस्पर्धा मात्र नभई नेपाली संस्कृति, पर्यटन र अर्गानिक खाद्य परिकारलाई विश्व बजारसम्म चिनाउने अभियान पनि हो।

कार्यक्रममा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिइनेछ। विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारहरूलाई एकै थलोमा प्रस्तुत गरिनेछ।

महासचिव गिरिराज भट्टले कोदो, फापर, सिस्नु लगायतका नेपाली रैथाने परिकारलाई आधुनिक प्रस्तुतीकरणमार्फत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।

प्रतियोगिताअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिवल आयोजना गरिनेछ। ५० भन्दा बढी स्टलहरू रहने फेस्टिवलमा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका विभिन्न परिकारहरूको स्वाद लिन सकिनेछ।

कार्यक्रममा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफहरू निर्णायकका रूपमा सहभागी हुनेछन्। उनीहरूको सहभागिताले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्राप्त हुने विश्वास लिइएको छ।

केन्द्रीय अध्यक्ष अरुण अधिकारीले यस कार्यक्रमले पाककला क्षेत्रसँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितामा सहभागिता जनाउन ३ जनाको टिम अनिवार्य गरिएको छ। सहभागी टिमहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुपर्नेछ।

पुरस्कार राशिहरू निम्नानुसार रहेका छन्–

प्रथम पुरस्कार: रु. १,००,०००
द्वितीय पुरस्कार: रु. ७५,०००
तृतीय पुरस्कार: रु. ५०,०००

यसका साथै प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक टिमलाई ‘मिस्ट्री बक्स’ समेत उपलब्ध गराइनेछ।

कार्यक्रमलाई व्यापक रूपमा जनसमक्ष पुर्‍याउन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूलाई सहयोग, सहकार्य तथा सकारात्मक प्रचारप्रसारका लागि हार्दिक अनुरोध गरिएको छ ।