काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सन्दर्भमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न नसकिने जवाफ इन्टरपोलले दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरुद्ध अनुसन्धान अघि बढाउँदै पक्राउ पुर्जी जारी भएपछि उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न प्रक्रिया अघि बढाएको थियो । तर इन्टरपोलले उपलब्ध कागजात र प्रस्तुत आधारहरूका आधारमा तत्काल रेड नोटिस जारी गर्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको निष्कर्षसहित जवाफ पठाएको स्रोतहरूले जनाएका छन् ।
जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा विभागले प्रहरीमार्फत इन्टरपोलसँग सहयोग माग गर्दै रेड नोटिस जारी गर्न अनुरोध गरेको थियो । तर इन्टरपोलले सम्बन्धित कसुरको स्पष्टता, प्रमाणको अवस्था तथा अन्तर्राष्ट्रिय स्तरमा लागू हुने सर्तहरू पर्याप्त रूपमा स्थापित नभएको भन्दै प्रश्न उठाएको बताइएको छ ।
देउवा दम्पती हाल हङकङमा रहेको दाबी गरिए पनि उनीहरूको अवस्थाबारे सरकारले वा परिवारले औपचारिक रूपमा कुनै स्पष्ट विवरण सार्वजनिक गरेको छैन ।











