१२ श्रावण २०८३, मंगलवार
,
Latest
भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै उभौली पर्व



अ+ अ-

काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ। यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ। यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन्। ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ।

किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्। यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्। यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ।