३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो



अ+ अ-

काठमाडौं । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ । अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो ।

जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१÷८२ को साउनदेखि असार महिनासम्ममा २६ हजार ६४२ यात्रुले पोखरा–जोमसोम हवाई मार्गबाट सेवा लिएका थिए ।

गत वर्ष पोखराबाट जोमसोम १४ हजार १७२ र जोमसोमबाट पोखरा १२ हजार ४७० यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए । गत वर्ष तारा एयर र समिट एयरलाइन्सको टुइनेटर साना जहाजले पोखरा–जोमसोम र जोमसोम–पोखरा गरी दुई हजार ४०६ उडान भरेको प्रमुख पोखरेलले बताए ।

चालु आव २०८२÷८३ को साउनदेखि चैत महिनासम्ममा सात हजार ५८६ यात्रुले पोखरा–जोमसोम र जोमसोम–पोखरा हवाई सेवा प्रयोग गरेका उनले बताए । प्रमुख पोखरेलका अनुसार चालु वर्षको नौ महिनामा ६ हजार १०५ विदेशी र एक हजार ४८२ नेपाली यात्रुले हवाई सेवा प्रयोग गरेका छन् ।

चालु आवमा पोेखराबाट जोमसोम जाने हवाई यात्रुको सङ्ख्या तीन हजार ७९ र जोमसोमबाट पोखरा उड्ने यात्रुको सङ्ख्या चार हजार ५३९ रहेको प्रमुख पोखरेलले बताए । यसैगरी चालु आवको नौ महिनामा पोखरा–जोमसोम दुईतर्फी उडान सङ्ख्या ९७० रहेको छ ।

जोमसोम नागरिक उड्डयन कार्यालयको तथ्याङ्क अनुसार गत आवको तुलनामा चालु आवको नौ महिनामा ४०.३१ प्रतिशत मात्रै हवाई उडान भएको छ । गत आवको हवाई यात्रुको तुलनामा चालु आवको नौ महिनामा १९ हजार ५६ कम यात्रुले हवाई यात्रा गरेको तथ्याङ्क छ ।

पोखरा–जोमसोम हवाई उडान तथा यात्रुसङ्ख्या बर्सेनि घट्दै गइरहेको जोमसोमस्थित तारा एयरलाइन्सका स्टेशन इञ्चार्ज सुजन लालचनले बताए ।

विगत वर्षमा पोखरा–जोमसोम दैनिक २५ उडानसम्म हुने गरेकामा पछिल्लो समय १० वटा उडान पनि हुन नसकेको उनको भनाइ छ । पर्यटकीय यामको समयमा मध्यपूर्वको द्वन्द्वले विदेशी पर्यटकको आमगन सङ्ख्या घटेकाले हवाई उडान समेत प्रभावित भएको उनको भनाइ छ ।

मध्यपूर्व द्वन्द्वले हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडादर वृद्धि भएका कारण पनि हवाई यात्रु घट्न थालेको इञ्चार्ज सुजन लालचनले बताए । यसैगरी उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेकाले पोखरा–जोमसोम र जोमसोम–पोखरा हवाई यात्रु घट्दो अवस्थामा पुगेको इञ्चार्ज लालचन बताउँछन् ।

जोमसोम विमानस्थलमा तारा एयर र समिट एयरका दुई वायु सेवा कम्पनीले दैनिक १० नियमित उडान भर्ने गरेका छन् । सोभन्दा बढी उडान भर्नुपरेमा सम्बन्धित वायु सेवा कम्पनीले चार्टर उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ ।

मुस्ताङको धार्मिकस्थल मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकलाई लक्षित गर्दै पोखरा र काठमाडौँबाट हेलिकोप्टरमार्फत चार्टर उडानसमेत हुँदैआएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।